दुई महिलालाई मुम्बईको कोठीमा बेच्ने विष्णुबहादुर ३२ वर्षपछि परे पक्राउ

पर्साः महिला बेचविखनमा संलग्न एक अभियुक्त ३२ वर्षपछि पक्राउ परेका छन्। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गर्ने पर्सा ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
थापाले २०४६ भदौ १८ गते मुम्बईको कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो। पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र २५ हजार जरिवाना सजाय भएको थियो। उनी घटनापछि फरार थिए।
थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ।
वैशाख ९, २०७९ शुक्रबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।