रोमाञ्चक भयो मुम्बई र चेन्नईबीचको खेल, धोनीले फेरि पुष्टि गरे आफूलाई 'उत्कृष्ट फिनिसर'

रोमाञ्चक भयो मुम्बई र चेन्नईबीचको खेल, धोनीले फेरि पुष्टि गरे आफूलाई 'उत्कृष्ट फिनिसर'

काठमाडौंः यतिबेला भारतमा आईपीएल चलिरहेको छ। भारतमा आईपीएल जारी हुनुको अर्थ हो- विश्वभरका क्रिकेट फ्यानको ध्यान त्यतै केन्द्रित हुनु।

क्रिकेट फ्यानहरूले बिहीबार राति पैसा वसुल खेल हेर्न पाए। खेल थियो मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्ग्सबीच। खेल चेन्नईले जित्यो। सामान्य होइन, रोमाञ्चक रूपले जित्यो। जितमा नायक भए- महेन्द्रसिंह धोनी।

सन् २०११ को एकदिवसीय विश्वकपमा उत्कृष्ट फिनिसिङ गर्दै भारतलाई उपाधि दिलाएका धोनीलाई नम्बर १ फिनिसर मानिन्छ। 

हिजोको खेलमा पनि त्यस्तै गरे। 

पहिले ब्याटिङ गरेर १५५ रन बनाएको थियो मुम्बईले। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईका सामु २० ओभरमा १५६ रन बनाउनुपर्ने चुनौती थियो।

तर अन्तिमको २०औं ओभरमा चेन्नईले १७ रन प्रहार नगरे नजित्ने अवस्था आयो। क्रिजमा धोनीसहित स्ट्राइकमा प्रिटोरियस थिए। अन्तिम ओभरको पहिलो बलमा प्रिटोरियस एलबीडब्ल्यू भए। ब्याटिङ गर्न अब ड्वेन ब्राभो आए। दोस्रो बलमा ब्राभोले एक रन बटुले। 

अब स्ट्राइकमा धोनी आए। १६ रन बाँकी थियो जित्न। र केवल ४ बल मात्र बाँकी। तेस्रो बलमा धोनीले सिधै छक्का प्रहार गरे। चेन्नईको गुमेको आश एकाएक भरिएर आयो।

चौथो बलमा चौका प्रहार गरे। अब जितका लागि ६ रन बाँकी भयो। र दुई बल। पाँचौँ बलमा बलर उनादकटले योर्कर प्रहार गरे। धोनी परे योर्कर मास्टर। उनले फ्लिक प्रहार गरेर दुई रन बटुले।

खेल एकाएक रोमाञ्चकको पनि हदमा पुग्यो। एक बल बाँकी छँदा चेन्नईलाई ४ रन आवश्यक थियो।

अक्सर क्रिकेटमा कमेन्टेटरहरू 'जबसम्म धोनी हुन्छन् तबसम्म आश हुन्छ' भन्छन्। भयो त्यस्तै। अन्तिम बलमा धोनीले जितका लागि चाहिएको ४ रन चौकामार्फत बटुले। चेन्नईले गुमाइसकेको खेलमा जित दिलाइदिए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि धोनीले आफूलाई पुनः उत्कृष्ट फिनिसर भएको पुष्टि गराए।

वैशाख ९, २०७९ शुक्रबार ०९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।