प्रत्यक्षदर्शीले देखेको सगरमाथा ग्यास प्लान्ट विस्फोट दृश्य : आकाशमा कालो मुस्लो, जमिनभरि मानव अङ्गका टुक्रा

प्रत्यक्षदर्शीले देखेको सगरमाथा ग्यास प्लान्ट विस्फोट दृश्य : आकाशमा कालो मुस्लो, जमिनभरि मानव अङ्गका टुक्रा

ललितपुर : पाटनको औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्रालीमा भएको विस्फोटमा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। ग्यास प्लान्टमा विष्फोटहुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सात जना घाइतेको अस्पतालमा उपचार भइरहेको थियो। उपचाररत अर्का एक भारतीय नागरिकको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

भारत पश्चिम चम्पारण रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय बृज महतो र ललितपुर महानगरपालिका-१८ बस्ने भारत घर भएका २५ वर्षीय राज कुमार महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

बृज महतोको घटनास्थलमै र राज कुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घटनामा घाइते ६ जना नेपालीमध्ये पाँच जनाको पाटन अस्पतालमा र एक जनाको बिएन्डवी अस्पतालमा उपचार गरेर डिस्चार्ज भएका छन्।

बिहान ग्यास भर्नेक्रममा लिक भएर विस्फोट भएको दाबी गरिएको छ। तर स्थानीयका अनुसार सो ग्यास प्लान्टमा यस्तो भएको पहिलो पटक भने हैन। १० दिन अगाडि पनि ग्यास प्लान्टबाट धुवाँको मुस्लो आएको थियो। तर ठुलो दुर्घटना भएन।

ठुलो आवाजका साथ विस्फोट हुँदा ग्यास प्लान्टको छानामा रहेका जस्ताका पाताहरूसँगै मानव अङ्गका टुक्राहरू समेत उडेका थिए। घटनास्थलमा पुगेका प्रहरीले पहिला घाइतेहरूलाई अस्पताल पुर्याएपछि दोस्रो काम शरिरका टुक्राहरू सङ्कलन गर्ने भएको थियो।

विस्फोटका कारण ग्याँस प्लान्टको मुख्य सिलिन्डर वरपर पुरै रगतको टाटा बसेको देखिन्छ। सो भयावह दृश्यले नै  विस्फोट कति शक्तिशाली थियो भन्ने देखाउँछ। घटनाका प्रत्यक्षदर्शीका अनुसार एक्कासि ठुलो आवाजमा केही पड्किएसँगै आकाशमा कालो मुस्लो देखिएको थियो।

आकाशमा जस्ताका पाताहरू उडेका थिए। स्थानीयको घरको झ्यालका सिसाहरू फुटे। केही स्थानीय घाइते पनि भए। केही समयमै प्रहरी आइपुग्यो। स्थानीयले घटनास्थलमा हेर्दा प्रहरी जमिनभरि छरिएको मानव अङ्गका टुक्राहरू सङ्कलन गरिरहेका थिए।

ललितपुर प्रहरीले प्रारम्भिक रूपमा घटना सिलिन्डरमा ग्यास भर्नेक्रममा भएको देखिएको बताउँदै यसबारे विस्तृत अनुसन्धान जारी रहेको बताएको छ।

वैशाख ८, २०७९ बिहीबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।