रञ्जु स्थानीय तहमा उम्मेदवार नबन्ने, राष्ट्रिय राजनीति गर्ने

रञ्जु स्थानीय तहमा उम्मेदवार नबन्ने, राष्ट्रिय राजनीति गर्ने

काठमाडौँ :  विवेकशील नेपाली दलबाट गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट मेयरमा उम्मेदवार बनेर शानदार मत ल्याएकी रञ्जु दर्शना अब केन्द्रीय राजनीतिमा जाने भएकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै महानगरपालिकाको मेयरको उम्मेदवार बन्दै गर्दाका वाचाहरू पुरा गर्न नसकेकाले नैतिक रूपमा उम्मेदवार नबन्ने घोषणा गरिन्।

उनले आफ्नो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतीत भएको भन्दै यिनै सक्रियता अनुसारको कदममा अघि बढ्ने लेखेकी छिन्।

'म आफैँले अघिल्लो पटकको स्थानीय निर्वाचनमा गरेको वाचा, घर-घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफूले मेयर पदको आकाङ्क्षा राखी चुनावमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समीक्षा गरेको छु तसर्थ यस स्थानीय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन,' उनले लेखेकी छिन्।

उनले स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा राजनीति छोडेको भनेर आङ्कलन गर्न सक्ने भन्दै यो सत्य नभएको लेखेकी छिन्। स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनुपर्ने र आफ्नो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढी व्यतीत भएको उनले लेखेकी छिन्।

'मैले सुरु गरेको राजनीतिमा चुनावमा बढी मत ल्याएर विजय हासिल गरेर मात्र हुँदैन। यो राजनीतिमा त राजनीतिक सु-संस्कार स्थापना गर्ने कुरामा म विश्वास गर्दछु, र त्यही मान्यतामा मेरो यो कदम आधारित छ,' उनले लेखेकी छिन्' धेरै शुभचिन्तक, साथीहरूले यस स्थानीय निर्वाचनमा उठ्नुस् भनिरहनु भएता पनि म यो यथार्थ र परिस्थितिलाई खुल्ला मनले स्वीकार गरी पूर्ण सशक्त रूपमा राजनीतिक यात्रा अघि बढाउने घोषणा गर्दछु।'

विवेकशीलहुँदै विवेकशील साझामा गएकी उनी रवीन्द्र मिश्र समूहले कारबाही गरेसँगै अहिले कुनै दलमा आबद्ध छैनन्। उनीसँगै साझामा गएका मिलन पाण्डे समूहले भने विभिन्न नाममा राजनीतिक गतिविधि गरिरहेका छन्।

वैशाख ८, २०७९ बिहीबार १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।