गठबन्धनमा काठमाडौँको मेयर पक्का गरेको कांग्रेसले सिफारिस गर्‍यो पाँच नाम

गठबन्धनमा काठमाडौँको मेयर पक्का गरेको कांग्रेसले सिफारिस गर्‍यो पाँच नाम

काठमाडौँ : गठबन्धनमा नेतृत्व आफ्नो पार्टीको पक्षमा पारेको नेपाली काङ्ग्रेसबाट काठमाडौँ महानगरको मेयरका लागि पाँच जनाको नाम सिफारिस भएको छ। नेता प्रकाशमान सिंहले आफ्नो श्रीमती सिर्जना सिंहको नाम सर्वसम्मत गराउने प्रयास गरेका थिए। तर महानगर समितिले उनीसहित पाँच जनाको नाम सिफारिस गर्यो।

पाँच दलीय गठबन्धनमा उपमेयर एकीकृत समाजवादीले पाएकाले उपमेयरमा सिफारिस भएका २ जनाले टिकट नपाउने पक्का छ। मेयरको सिफारिसमा परेकाहरूमा वर्तमान उपमेयर हरिप्रभा खड्की, सिर्जना सिंह, नीलकाजी शाक्य, इन्जिनियर सुशन वैद्य र महानगर कार्यसमिति सभापतिसमेत रहेका व्यवसायी प्रगतिमान रञ्जित छन्।

महानगर समितिले सिफारिस गर्नु अगाडि नै सामाजिक सञ्जालमार्फत सिर्जनालाई महानगरको मेयरको रूपमा प्रोजेक्सन गर्ने क्रम बढेको छ। प्रकाशमान सिंह समेत आफ्नै श्रीमतीलाई महानगरको मेयरको टिकट दिलाउन सक्रिय छन्।

सिर्जना पछिल्लो समय सामाजिक सञ्जालमा आफू प्रकाशमानको श्रीमती मात्रै नभई नेपाली कांग्रेसमा लामो समयदेखि क्रियशिल महिला नेतृ भएको पुष्टि गर्न सक्रिय छिन्।

वैशाख ८, २०७९ बिहीबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।