पत्रकार महासङ्घमा राजीनामा नदिई उम्मेदवार बने स्वतः पदमुक्त

पत्रकार महासङ्घमा राजीनामा नदिई उम्मेदवार बने स्वतः पदमुक्त

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले सङ्घको सदस्यबाट राजीनामा नदिई कुनै पदाधिकारी वा सदस्य स्थानीय तहमा उम्मेदवार बनेमा उसको सदस्यता स्वतः : खारेज हुने निर्णय गरेको छ।

महासङ्घको पदाधिकारीहरूको बैठकले महासङ्घको सदस्य रहेका कसैले उम्मेदवार बन्न चाहेमा महासङ्घको जिम्मेवारीबाट मुक्त भएर मात्र उम्मेदवार बन्न आव्हान गर्दै कसैले अटेर गरेर उम्मेदवार बने सदस्यता स्वतः खारेज हुने निर्णय गरेको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस अगाडि भएको एमाले, कांग्रेस र माओवादी केन्द्रको महाधिवेशनमा उम्मेदवार बनेका महासङ्घका पदाधिकारी र सदस्यहरू अहिले पनि सोही पदमा कार्यरत भए पनि महासङ्घले कुनै कारबाही गर्न सकेको छैन।

महिला उपाध्यक्ष बाला अधिकारी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै महासङ्घको पद त्यागेको घोषणा गरेकी थिइन् तर अहिले पनि उनी महासङ्घको उपाध्यक्षमै कार्यरत छिन्। महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बनेर पराजित भएका र प्रदेश र केन्द्रको प्रतिनिधि भएकाहरू अहिले पनि महासङ्घको सदस्य नै छन्।

कतिसम्म भने तीनै दलको केन्द्रीय समितिमा पुगेका महासङ्घका सदस्यहरूको सदस्यता समेत महासङ्घले खारेज गर्ने निर्णय गर्न सकेको छैन।

वैशाख ८, २०७९ बिहीबार १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।