विस्फोट भएको अक्सिजन प्लान्ट क्षेत्रको अवस्था भयावह, वरपर मानिसका अङ्गका टुक्रा

ललितपुर : ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट वरपर अहिले मान्छेका शरीरका अङ्गहरू छरिएका छन्। बिहानै ग्याँस भर्नेक्रममा भएको विस्फोटमा परेर एक जानको ज्यान गयो भने सात जना गम्भीर घाइते भए। जो-जो घाइते भएका छन् उनीहरूको अवस्था कति गम्भीर होला भन्ने घटनास्थलको अवस्थाले नै देखाउँछ।
प्रहरी घटनास्थलमा पुग्दा व्यक्तिका शरीरका टुक्राहरू यत्र तन्त्र छरिएका थिए। विस्फोटको समयमा कारखानामा १० जना कामदार थिए। तीमध्ये एक जनाको घटनास्थलमै ज्यान गयो भने अन्य सात जनालाई उपचारका लागि अस्पताल लगियो।
अहिले ६ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको विएन्डवीमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलका पुगेका एक प्रहरी अधिकारीले जानकारी दिए।
घटनास्थलको अवलोकन गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरीहरू पुगेका छन्। विस्फोटको प्रभावले उद्ध्योगको छाना पुरै उडेको छ भने वरपरका घरका सिसाहरू समेत फुटेका छन्।
घटना लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले अनुसन्धान गर्न निर्देशन दिएका थिए। उनले गृह मातहतका निकायका जिल्ला प्रमुखलाई फोन गरेर घाइतेको तत्काल उद्धार गरेर घटना के कति कारणले भएको हो छानबिन गर्न निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
वैशाख ८, २०७९ बिहीबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।