कम्युनिष्ट पार्टीको चरित्रसँग डराउँदै शेखर समूह

काठमाडौंः बुधबार सत्ता गठबन्धनको बैठकमा सहमतिको ड्राफ्ट बनिसकेपछि दलहरू आन्तरिक छलफलमा थिए। उता राष्ट्रिय नाचघर जमलमा नेपाली कांग्रेसका नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षका नेताहरू नेविसंघको ५३ औं स्थापना दिवसका अवसरमा आयोजित 'स्थानीय तहमा नेविसंघको भूमिका' विचार गोष्ठीमा सहभागी थिए।
महामन्त्री गगन थापा घोषणापत्रको काम सकेर कार्यक्रमको मध्य समयतिर पुगे। मीनेन्द्र रिजाल, गगन थापा र शेखर कोइराला कानेखुशी गर्दै थिए।
गगनले शेखरसँग भने, ‘दाइ, कस्तो बिडम्बना भयो। हामीले त अर्को पार्टीको चिह्नमा स्वस्तिक छाप लगाउनुपर्ने भयो।’
कोइरालाको भाव थियो, ‘हेरौंला, गर्दै जाऔं ...’
रिजाल पनि, ‘रणनीति बनाउनुपर्छ' भन्ने भावको कुरा गर्दै थिए।
नेता कोइरालाले यस्तो अवस्था किन आयो भन्ने विषयमा निर्वाचनपछि छलफल गर्ने बताए। शेखर समूह कम्युनिष्ट पार्टीको विश्वास नहुने र कम्युनिष्ट पार्टीहरूले धोका दिएको बताउँदै थिए।
कोइरालाले एमाले उपाध्यक्ष सुवास नेम्वाङले भेटमा कांग्रेस पहिलेजस्तो नभएको भनाइ राखेको सुनाए। बिपी कोइरालाले कांग्रेसले कम्युनिष्टसँग मिलेर जान नहुने कुरा गरेको स्मरण गरे।
‘सुशील कोइरालाको पालामा हामी एक्लै चुनावमा गयौं। संविधान सभाको चुनावमा पनि कांग्रेस एक्लै चुनावमा गयो', नेता कोइरालाले भने, ‘आज हामी के कारणले तालमेल गर्दै छौं? के हामी कमजोर छौं? मलाई लाग्दैन कांग्रेस कमजोर छ।’
३६ लाख मतदातामा २० लाख मतदाता तान्न सके मात्रै कांग्रेसको बहुमत आउने नेता कोइरालाको दावी थियो। ‘के कारणले कम्युनिष्टसँग मिलेर स्थानीय निर्वाचनमा गइरहेका छौं? कांग्रेसले अर्को दलको चुनाव चिह्नमा मत हाल्नुपर्ने भयो। कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन', कोइरालाले भने।
यता उपसभापति धनराज गुरुङले पार्टीको हित प्रतिकूलका काम हुने गरेको संकेत गरे। उनले भने, ‘पार्टीमा पीएचडी गरेका धेरै व्यक्ति छन्। हामीले नपढेर पीएचडी गरेका छौं। तर पार्टीभित्रका शैक्षिक पीएचडी धारीहरू 'पुल हिम डाउन' पीएचडी गरेका रहेछन्।’
गुरुङको गुनासो यत्तिमै सीमित थिएन। भने, ‘आज म कस्तो कांग्रेस भइरहेको छु म आफैँलाई प्रश्न गरिरहेको छु। आफैँलाई घरभित्र थुनेर खेताला खोज्न हिँडेको कांग्रेस देखिरहेको छु। जवान छोरा-छोरी बुहारीलाई घरमै थुनेर खेताला खोजेर कस्तो बाली हुर्काउँदै छौँ?’
कार्यक्रममा नेता रिजाल र महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरूले कसरी धोका दिन्छन् भनेर उदाहरण दिए। ‘कम्युनिष्ट पार्टीहरू फरक ठाउँमा रहेको, एकै ठाउँमा रहेको, रातारात एक भएको, रातारात पार्टी पनि फुटेको देख्यौँ’, महामन्त्री थापाले भने, ‘३०–३२ लाख मतदाताको भरको आधारमा एक्लै जाने हिम्मत नगर्ने भए कुनै न कुनै रुलमा कम्युनिष्ट पार्टीसँग डराइरहनु पर्ने अवस्था हुन्छ।’
उनले जुनसुकै बेला आफूले गल्ती गरेको र निर्वाचनमा एक्लै जानुपर्ने रहेछ भन्ने अवस्था आउनसक्ने बताए। ‘क्विन्टलको ढकको कुरा गर्ने केपी ओलीले पत्र लेखेछ्न्। परिवार दल, घर दल, हुक्के दल लिएर अघि बढेको दलसँग एक्लै चुनाव लड्न तयार छ’, थापाले भने, ‘हामी एक्लै कांग्रेसले जित्नसक्ने बनाउने हो। कम्युनिष्ट पार्टीको रूप रंग देखिसकेका छौँ। जुनसुकै बेला हामीले गल्ती गरेछौँ एक्लै जानुपर्ने रहेछ भन्ने अवस्था आउँछ। त्यसको लागि अहिलेदेखि तयार हुनुपर्छ।’
नेता रिजालले गठबन्धनबाट राम्रो नतिजा आए केपी ओली प्रधानमन्त्रीको अफर गर्दे प्रचण्डकोमा जानसक्ने र नराम्रो नतिजा आए प्रचण्ड लगायतका नेताहहरू ओलीकहाँ प्रधानमन्त्रीको अफर लिएर जानसक्ने सम्भावना रहेको बताए।
‘संविधान सभामा कांग्रेस चाहिँदैन भने बाबुराम भट्टराई र ईश्वर पोखरेलले। त्यो बेला संविधान बनेन। फेरि कांग्रेस जनताको घरमा गयौं। हाम्रो र एमालेको सरकार भयो। एमालेले भन्यो माओवादी संविधान सभाबाट बाहिरिए केही हुँदैन हामी संविधान बनाउछौ। न यताको कम्युनिष्ट हामीसँग छ, न उताको कम्युनिष्ट हामीसँग छ। अघिल्लो चुनावमा स्थानीय तहमा हामीसँग तालमेल गर्यो, संघीय चुनावमा एमालेसँग तालमेल गर्यो। पार्टी एकता गरे मतभेदले पार्टी अलग भयो। कांग्रेस कम्युनिष्टको लडाइँमा सहभागी हुनुहुँदैन।’
इतर पक्षका नेताहरूले गठबन्धनमा भन्दा एक्लै लड्दा कांग्रेसको शक्ति र संगठन बलियो हुने बताइरहँदा बालुवाटारमा कांग्रेसले तीन वटा महानगरको मेयर पाएको थियो।
कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाउँदा माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पायो।
त्यसैगरी उपप्रमुखतर्फ काठमाडौं एकीकृत समाजवादीले पाउँदा वीरगञ्ज, भरतपुर र पोखरा कांग्रेसले पाएको छ। माओवादीले ललितपुर र विराटनगरको उपमेयर जसपाले पायो।
उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुर, नेपालगञ्ज र धनगढीको नेतृत्त्व लिने सहमति भयो। माओवादीले जितपुर–सिमरा र घोराही गरी दुई उपमहानगरको नेतृत्त्व लिने सहमति भयो।
एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्त्व लिने सहमति हुँदा जसपाले जनकपुर उपमहागर पायो।
सरकारका प्रवक्ता रहेका संस्थापन पक्षका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकतालाई हेरेर गठबन्धन गरेको बताए।
‘कतिपय ठाउँमा असन्तुष्टि पनि होलान्। मुलुक र लोकतन्त्रको हितको निमित्त मत भिन्नताहरूलाई मिलाएर लिएर जानुको विकल्प छैन', कार्कीले भने, ‘असन्तुष्टिलाई छलफलबाट निकास निकालेर गठबन्धनका उम्मेदवारलाई जिताउन सबै साथीहरूलाई आ–आफ्नो दलबाट आग्रह गर्दछौं।’
मतदानको दिनसम्म सबै सहमतिमा आउने उनको दावी छ।
वैशाख ८, २०७९ बिहीबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।