नौ महिनामा ट्राफिक प्रहरीले सङ्कलन गर्‍यो साढे ३९ लाख राजश्व

नौ महिनामा ट्राफिक प्रहरीले सङ्कलन गर्‍यो साढे ३९ लाख राजश्व

खोटाङः नौ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ। ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकलाई कारबाही गर्दा उक्त रकम बराबरको राजश्व सङ्कलन भएको हो।

ट्राफिक प्रहरीको टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारीका चालकलाई कारबाही गरेको थियो। साउनमा दुई लाख ६३ हजार, भदौमा चार लाख ४४ हजार, असोजमा चार लाख सात हजार, कात्तिकमा ६ लाख ५३ हजार, मङ्सिरमा सात लाख १० हजार, पुसमा तीन लाख ७८ हजार, माघमा तीन लाख ७९ हजार, फागुनमा तीन लाख ६३ हजार र चैतमा तीन लाख २४ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले बताए। 

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरूप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो।

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारी साधन दुर्घटना भएको छ। त्यसबीच पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। अधिकांश सवारी ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको खत्रीले बताए।

वैशाख ८, २०७९ बिहीबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।