टी ट्वेन्टीका विस्फोटक ब्याट्सम्यान पोलार्डले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौंः वेस्ट इण्डिज क्रिकेट टोलीका विस्फोटक ब्याट्सम्यान तथा सीमित ओभरका कप्तान कायरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। बुधबार आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले सन्यासको घोषणा गरेका हुन्।
३४ वर्षीय पोलार्ड ब्याटमा मात्र होइन। बलमा पनि उत्तिकै दख्खल राख्छन्। अलराउण्डर पोलार्ड यतिबेला भारतमा छन्। मुम्बई इण्डियन्सका तर्फबाट उनी आईपीएल खेल्दैछन्। उनले राष्ट्रिय टीमको जर्सी लगाएर क्रिकेट नखेल्ने भए पनि फ्रेन्चाइज लिगहरू भने जारी राख्नेछन्।
लगातार १५ वर्ष उनले वेस्ट इण्डिज टीममा महत्त्वपूर्ण सदस्य भएर खेले। टेस्ट खेलेनन्। टी ट्वेन्टी र एकदिवसीयमा उनले गहिरो छाप छोडे।
टी ट्वेन्टी क्रिकेटमा दिग्गजहरूमध्ये गनिने पोलार्डले १०१ टी ट्वेन्टी खेले। २५.३० को औसतमा एक हजार पाँच सय ६९ रन बनाए। ४२ विकेट लिए। १२३ एकदिवसीय खेले। २६.०१ को औसतमा दुई हजार सात सय ६ रन बनाए। ५५ विकेट लिए।
पोलार्डलाई सन् २०१९ मा वेस्ट इण्डिजको सीमित ओभरको कप्तान नियुक्त गरिएको थियो। उनी सन् २०१२ मा वेस्ट इण्डिजले टी ट्वेन्टी विश्वकप जित्दा टोलीको सदस्य पनि हुन्।
वैशाख ८, २०७९ बिहीबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।