डेरावालको कोठा खाली गराउँदा भेटियो गोली र नक्कली सुन

डेरावालको कोठा खाली गराउँदा भेटियो गोली र नक्कली सुन

काठमाडौँ : कोटेश्वर नरेफाँटमा सुनमाया श्रेष्ठको घरमा डेरामा बस्ने प्रमीला तामाङ लामो समय डेरामा नआएपछि उनले वडा कार्यालयमा उजुरी दिइन्। वडा कार्यालयमा परेको निवेदन प्रक्रिया अगाडि बढाउँदै डेरावाला सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाको प्रतिनिधि  र प्रहरी टोली कोठा खाली गराउन गए। कोठा खाली गराउँदा प्रतिनिधिहरू राखेर सामानको मुचुल्का गर्नुपर्छ।

त्यही प्रक्रियाका लागि कोठामा भएका सामानहरू जाँच गर्नेक्रममा प्रहरीले कोठामा सेनाको कपडा, चार राउन्ड गोलीसँगै एक किलो सुनको बिस्कुट समेत फेला पार्यो। यति मात्रै हैन कोठामा। राहदानी, विभिन्न मोबाइल, विभिन्न व्यक्तिको नामको चेक बुक, विभिन्न व्यक्तिको नामको तमसुक समेत फेला पार्यो।

एक किलो लेखिएको सुनको बिस्कुट सक्कली हो कि नक्कली भनेर बुझ्न सुनचाँदी व्यवसायीलाई घटनास्थलमै ल्याई परीक्षण गराउँदा उक्त पहेलो धातु नक्कली सुन भएको प्रतिवेदन आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिए।

कोठामा बरामद भएका सामानको आधारमा सो कोठा अपराधमा प्रयोग भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। तर कोही पक्राउ परेका छैनन्।

वैशाख ७, २०७९ बुधबार २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।