शिक्षाध्यक्षलाई तोकियो यौनजन्य दुर्व्यवहार गुनासो सुन्ने अधिकारी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालयमा भएको यौनजन्य दुर्व्यवहार गुनासो सुन्ने अधिकारीको रूपमा शिक्षाध्यक्षलाई तोकेको छ।
त्रिविका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहालका अनुसार सरकारको नियम अनुसार कार्यालय प्रमुखलाई यौनजन्य हिंसाको सुन्ने अधिकारीको रूपमा तोक्ने चलन भएपनि त्रिवि कार्यकारीले तीन पदाधिकारी मध्ये कसैलाई जिम्मा दिएको थिएन।
हिजो बसेको बैठकले शिक्षाध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको हो। निर्णयमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक, कर्मचारी वा अध्ययनरत छात्रछात्राहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय वा यसको परिसर वा क्याम्पस, अनुसन्धान केन्द्र, अध्ययन संस्थान वा संकाय वा यस अन्तर्गतको परिसर भित्र कसैलाई ऐनको दफा ४ (१) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) बमोजिमको यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा सोबाट पीडित शिक्षक, कर्मचारी वा विद्यार्थीले दिएको उजुरी सुन्ने अधिकारीको रूपमा सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यालयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रूपमा तोक्ने निर्णय गरियो।’
वैशाख ७, २०७९ बुधबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।