मन्द मुस्कानसहित राष्ट्र बैंक पुगेका गभर्नर अधिकारी

काठमाडौँ : पदीय दुरुपयोग गरेको आरोपमा सरकारले छानबिन समिति गठन गरेसँगै निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बुधवार मन्द मुस्कानसाथ राष्ट्र बैङ्कको केन्द्रीय कार्यालयमा फर्किए।
सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका अधिकारीको पक्षमा आदेश जारी गर्दै सर्वोच्च अदालतले मङ्गलवार अन्तरिम आदेश जारी गर्दै उनलाई काम गर्न अवरोध नगर्नु भनेपछि उनको मुस्कान फर्किएको हो।
उनी केन्द्रीय कार्यालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए। नयाँ गभर्नर नियुक्त भएझैँ खादा र माला लगाएर आफ्नो कार्यकक्षमा पुगेका उनले सरकारको निर्णय राष्ट्र बैङ्कमाथिको आक्रमण भएको बताउँदै आफूले व्यावसायिक ढङ्गले काम गर्ने दाबी गरेका थिए।
मङ्गलवार आएको अन्तरिम आदेश मात्रै हैन। अन्तिम फैसला आउन बाँकी नै छ। उनले अन्तिम फैसला पनि आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरेका थिए। उनले आफूले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने दाबी समेत गरे।
अमेरिकाबाट नेपाल भित्रिएको शङ्कास्पद ४० करोड खुलाउन अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएको खुलेसँगै सरकारले उनको भूमिकाबारे छानबिन गर्न समिति गठन गरेको थियो।
समिति गठन लगत्तै गभर्नर निलम्बन हुने कानुन अनुसार उनी स्वतः निलम्बनमा परेका थिए। पछि उनी सर्वोच्चमा रिट बोकेर गएपछि समितिमाथि प्रश्न उठाउँदै सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश त जारी गर्यो नै अन्तिम फैसला नआएसम्म उनलाई गभर्नरको रूपमा काम गर्ने बाटो समेत खोलिदियो।
वैशाख ७, २०७९ बुधबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।