‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम आगामी बजेटमा थप्दैनौँ: मन्त्री झाँक्री

काठमाडौँ : शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू-टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन्।
सञ्चालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ।
उनले भने, 'आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ बाहिरिन्छौँ। राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्। अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन।' उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बतइन्।
मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ। एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताइन्।
'आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ। पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन। तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ', उनले भनिन्।
मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रम यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताइन्। उनले यसअघिको सरकारविना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेण्डर गरेर शिलान्यास गर्दासमेत काम सुरू हुन नसकेको बताए।
वैशाख ७, २०७९ बुधबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।