बुटवलमा आजबाट राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता सुरु

बुटवलः आजदेखि बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बुटवल- ११ देविनगर माझगाउँस्थित नवदीप कभर्ड हलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले गरे।
उद्घाटनमा बोल्दै उनले उपमहानगरमा जनप्रतिनिधि आएपछि बुटवलको खेलकुद क्षेत्रमा धेरै काम भएको बताए। खेलकुद क्षेत्रको विकासलाई खेल पूर्वाधार निर्माणमा उपमहानगरपालिकाले प्राथमिकतामा राख्दै बहुउद्देश्यीय खेल मैदानका कामहरू निर्माणाधीन अवस्थामा रहेको बताए।
प्रतियोगिता वैशाख १० सम्म हुनेछ। बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष गोपाल टण्डनले प्रतियोगितामा पाँच विधामा खेलहरू खेलाइने बताए। मेन्स सिङ्गल, मेन्स डबल्स, भेट्रान्स ४५ वर्षमाथि, ५५ वर्षमाथि र महिला सिङ्गलमा खेलहरू खेलाइने छ।
प्रतियोगिताको मेन्स सिङ्गल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय ३० र तृतीयलाई २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ। यसैगरी भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीय २० र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।
५५ वर्षमाथि भेन्ट्रान्स समूहको प्रथमलाई २० हजार रुपैयाँ, द्वितीय १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ।
प्रतियोगिताका सञ्योजक शम्भु भट्टराईका अनुसार प्रतियोगितामा २० लाख ६० हजार खर्च अनुमान गरिएको छ। प्रतियोगितामा २०८ जना खेलाडीले भाग लिएका छन्।
वैशाख ७, २०७९ बुधबार ११:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।