एमालेले सिफारिस गर्यो विराटनगर, इटहरी र धरानका मेयर उम्मेदवार: द्वारिकलालको नाम प्रदेश कमिटीले हटायो

इटहरीः नेकपा एमाले प्रदेश १ कमिटीले एक महानगरसहित दुई उपमहानगरका लागि मेयर तथा उपमेयरका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीका पदाधिकारीसहित स्थायी समिति सदस्यको बैठकले नाम सिफारिस गरेको हो।
विराटनगर महानगरबाट पाँच जना, इटहरी र धरान उपमहानगरपालिकामा चार/चार जनाको नाम सिफारिस गरिएको छ। तर, पुनः मेयर पदमा दोहोरिने दाउमा रहेका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको भने नाम सिफारिसमै पनि परेन।
नगर कमिटीबाट सिफारिस भएर आएको चौधरीको नामलाई प्रदेश कमिटीले हटाएको हो।
इटहरीबाट नगर अध्यक्ष यामकुमार सुब्बा, हालकी उपमेयर लक्ष्मीकुमारी गौतम, तैयव हुसेन र रामप्रसाद चौलागाँईको नाम सिफारिस भएको छ। त्यस्तै उपमेयरमा संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम अगाडि सारिएको छ।
तथापि इटहरीमा एमालेले राप्रपालाई उपमेयर दिएर तालमेल गर्ने योजना बनाएको छ।
धरानमा मोतिराज सुनुवार, वर्तमान उपमेयर मञ्जु भण्डारी, विजय राई र मनोज मेयाङ्बोसहित चार जना मेयरमा सिफारिस भएका छन्। वर्तमान उपमेयर भण्डारी उपमेयरमा पनि अटाएकी छिन्।
उनीसहित पदम लिम्बु, लहरुमाया जिमी, सविता राई र सुशीला पहाडी सिफारिस भएका छन्। सिफारिस भएको नाम मंगलबार नै केन्द्रीय कमिटीमा पठाइएको छ।
उता विराटनगर महानगरपालिकामा रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, पर्शुराम बस्नेत, नगर अध्यक्ष सागर थापा र महेश भट्टराई सिफारिस भएका छन्। उपमेयरमा लागि शिल्पा कार्की, विमला दाहाल र अञ्जु उपाध्यायको नाम सिफारिस गरिएको छ।
वैशाख ७, २०७९ बुधबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।