५ वर्षपछि गोल्डेन डकमा आउट भए विराट, प्लेइङ ११ बाटै हट्ने डर

५ वर्षपछि गोल्डेन डकमा आउट भए विराट, प्लेइङ ११ बाटै हट्ने डर

एजेन्सीः क्रिकेटको दुनियाँमा दिग्गज ब्याट्सम्यानहरूको स्थानमा अटाउँछन् विराट कोहली। तर हालैको दिनको उनको प्रदर्शन भने खस्किँदा खस्किँदा अब प्लेइङ ११ मै नअटाउने जोखिम बढेको छ।

पछिल्लो उदाहरण हो- हिजोको आईपीएल खेलमा उनको गोल्डेन डकमा आउट हुनु। आईपीएलको यस संस्करणको ३१औं खेलमा हिजो लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेंग्लोर भिडेका थिए। लखनउले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो।

बेंग्लोरका अनुज रावत र फाफ डु प्लेसिस ओपनिङमा आए। तर अनुज ४ रन बनाएर आउट भए। त्यसपछि विराट मैदानमा उत्रिए।

आईपीएलमा विराट ब्याटिङ गर्न मैदानमा उत्रनु भनेको विपक्षी टीमले समेत चियर अप गर्ने पल हो। तर विराट लामो समयदेखि फर्ममा छैनन्।

विराट स्ट्राइकमा हुँदा बलर थिए दुष्मंथ चमीरा। उनको बललाई विराटले ब्याकफुटमा गएर खेल्न चाहे। प्रहार गरे तर दीपक हुड्डाले क्याच पक्रे। र योसँगै आईपीएलमा विराट ५ वर्षपछि गोल्डेन डक भए।

यो संस्करणको कुरा गर्ने हो भने हालसम्म ७ खेल खेलेका छन् विराटले। कुल ११९ रन बनाएका छन्। त्यो पनि २० भन्दा कम औसतमा। 

स्ट्राइक रेट पनि १३० भन्दा कम छ। दिनानुदिन विराट आईपीएलमा फ्लप सावित भइरहेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनको लय बिग्रिएको बिग्रिएकै छ। सन् २०१९ मा अन्तिम पटक शतक प्रहार गरेयता विराटको ब्याट र हेल्मेट उचालिएको छैन।

भारतीय सञ्चारमाध्यमको शंकालाई आधार मान्ने हो भने विराट आईपीएलको आगामी खेलमा प्लेइङ ११ मा नहुने सम्भावना छ।

लखनउ र बेंग्लोरबीचको खेल भने अन्ततः बेंग्लोरले १८ रनले जितेको थियो।

वैशाख ७, २०७९ बुधबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।