एकीकृत समाजवादीले जितेको पालिकामा मदिरा पिउन अनुमति पत्र लिनुपर्ने

एकीकृत समाजवादीले जितेको पालिकामा मदिरा पिउन अनुमति पत्र लिनुपर्ने

काठमाडौँ : एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा आफ्नो पार्टीको नेतृत्व हुने स्थानीय तहमा बसेर मदिरा पिउनेहरूले अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्ने उल्लेख गरेको छ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले मङ्गलवार सार्वजनिक गरेको घोषणा पत्रमा मदिराले विभिन्न विकृति बढाएको भन्दै पार्टीको नेतृत्व हुने स्थानीय तहमा मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख छ।

जथाभाबी मदिरा सेवनले सम्पत्ति सकिने, परिवारमा झगडा हुने र मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्न आवश्यक रहेको घोषणा पत्रमा उल्लेख छ।

'मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ। यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुनेछ,' घोषणा पत्रमा उल्लेख छ।

अहिले नेपालमा मदिरा विक्री गर्न अनुमती पत्र लिनुपर्ने कानुनी प्रावधान छ। जथाभावी मदिरा विक्री नियन्त्रण गर्न विध्यालय, अस्पताल लगायत रहेका स्थानमा निश्चित दुरीमा मात्र मदिरा विक्री गर्न पाइने कानुन भए पनि कार्यान्वयनको अभावमा विध्यालयसँगै जोडिएको भवनमा मदिरालयहरु खुलेका देखिन्छन्। एकिकृत समाजवादीले घोषणा पत्रमा यो उल्लेख गरे पनि कार्यान्वयन पाटो भने जटिल देखिन्छ।

घरेलु मदिराको ब्रान्डिङ गरिने

घोषणा पत्रमा मदिरा सेवनमा कडाई गर्न व्यक्तिले नै लाइसेन्स लिनुपर्ने उल्लेख गर्दै मदिरा नियन्त्रणमुखी देखिएको एकीकृत समाजवादीले सोही घोषणा पत्रमा घरेलु मदिराको ब्रान्डिङ गरेर बजार प्रवर्धन गर्ने उल्लेख गरेको छ।

जाँड तथा छ्याङहरू नेपाल आउने विदेशीले रुचाएको भन्दै उसले एकीकृत समाजवादीको नेतृत्व रहने पालिकाले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर यस्ता घरेलु मदिराको ब्रान्डिङ गरेर बजार प्रवर्धनमा सघाउने उल्लेख गरेको छ। यसले विदेशी मदिराको आयात प्रतिस्थापन हुने र रोजगारी बढ्ने घोषणापत्रमा उल्लेख छ।

वैशाख ६, २०७९ मंगलबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।