जबज अस्वीकार गरेको एकीकृत समाजवादीको घोषणा पत्रमा मदनको तस्बिर

जबज अस्वीकार गरेको एकीकृत समाजवादीको घोषणा पत्रमा मदनको तस्बिर

काठमाडौँ : स्थानीय तहको निर्वाचनका लागि एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेले प्रयोग गर्दै आएको तीन नेताको तस्बिर राखेको छ। एकीकृत समाजवादीले घोषणा पत्रमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएका मदन भण्डारीको समेत तस्बिर राखेको हो।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि उसले जनताको बहुदलीय जनवादलाई मार्ग निर्देशक सिद्धान्त मान्न अस्वीकार गरेको थियो।

घोषणा पत्रमा  २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेको नाममा मत माग्न आएको तर यस पटक कम्युनिस्ट सिद्धान्त जोगाउन विद्रोह गर्नु परेकाले एकीकृत समाजवादीको नाममा मत माग्न आएको उल्लेख गरिएको छ।

घोषणा पत्रमा विद्रोह गर्नु रहर नभएर बाध्यता भएको दाबी गर्दै कम्युनिस्ट विचार, सिद्धान्त, आचरण र कार्यशैलीबाट च्युत भएको नेतृत्वलाई सुधार्न नसकिने अवस्थामा विद्रोह नगरेको भए कम्युनिस्ट आन्दोलन जोगाउनै नसकिने अवस्था रहेको उल्लेख छ।

घोषणा पत्रमा पुष्पलाल श्रेष्ठले २००६ सालमा बनाएको नेपाल कम्युनिस्ट पार्टीको र एमालेको सच्चा उत्तराधिकारी आफूहरू भएको दाबी गरिएको छ।

वैशाख ६, २०७९ मंगलबार १६:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।