एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक, ५ हजार लिटर पानी र २ सय युनिट विद्युत नि:शुल्क 

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक, ५ हजार लिटर पानी र २ सय  युनिट विद्युत नि:शुल्क 

काठमाडौँ : एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।  

समाजवादीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै मतदालताई निःशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। 

‘हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ, ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्याइने छ।’

घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ। सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ। ‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ।

‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ। यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ। 

यस्तै एकीकृत समाजवादीले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने जनाएको छ। ‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन्। यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका पालिकाहरूले युवा विभाग गठन गर्ने छन्। पालिकास्तरमा रहेको युवा विभागले आफ्नो भूगोलभित्र रहेका १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको तथ्याङ्क लिने, ती युवाहरूमध्ये बेरोजगारहरूलाई रोजगारी उपलब्ध गराउनका लागि स्वरोजगारका विविध योजना बनाई लागु गर्ने छन्,’ नेकपा एसले घोषणापत्रमा भनेको छ।

युवा जनशक्तिलाई देशभित्रै टिकाउन र उत्पादन बृद्धिमा जोड्न तथा उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न योजना पनि घोषणापत्रमा समेटिएको छ।

‘हाम्रा युवा हामीसँगै’ भन्ने आव्हानका साथ ऊर्जाशील, दक्ष र बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने र आफ्नै गाउँ सहरमा रोजगारीका अवसरहरू सृजना गर्ने कुरालाई उच्च प्राथमिकतामा राखिने घोषणापत्रमा उल्लेख छ। युवा जनशक्तिलाई उत्साहकासाथ देशविकासमा लगाइने नेकपा एसले जनाएको छ। 

घोषणापत्रमा प्रत्येक पालिकामा सिपमूलक तालिम केन्द्र स्थापना गरिने प्रतिवद्धता समेत गरिएको छ। हरेक वार्डमा सबै आयुवर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने पनि घोषणापत्रमा समेटिएको छ।

‘बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ। हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइने छ,’ घोषणापत्रमा उल्लेख छ।

 

वैशाख ६, २०७९ मंगलबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।