गठबन्धनमा खटपट : पोखरा महानगरमा कुरा नमिल्ने देखेपछि नेपालले भने 'अपमान भए सहिन्न'

गठबन्धनमा खटपट : पोखरा महानगरमा कुरा नमिल्ने देखेपछि नेपालले भने 'अपमान भए सहिन्न'

काठमाडौँ : पोखरा महानगरपालिकाको नेतृत्व दाबी गरेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनभित्र अपमानपूर्ण व्यवहार भइरहेको बताएका छन्। महानगरपालिका र उपमहानगरपालिकामा सत्ताधारी गठबन्धन दलबिच भागबन्डाका लागि बालुवाटारमा बैठक सुरु हुनु अगाडि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै उनले अन्य दलले आफ्नो शक्तिको अति मूल्याङ्कन र अन्यको अवमूल्यन गरेको रिपोर्टहरू आइरहेको भन्दै यस्तो सह्य नहुने चेतावनी दिएका हुन्।

पोखरा महानगरपालिका आफूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ भने नेपाली कांग्रेसले समेत दाबी गरिरहेकै छ। भरतपुर महानगरमा काँग्रेस ब्याक भएर माओवादी केन्द्रलाई दिन राजी भए पनि पोखरामा भने काँग्रेस अझै सहमत हुन सकेको छैन।

काङ्ग्रेससहित माओवादी र जनता समाजवादीले महानगरको नेतृत्व पाउँदा यस अगाडिको निर्वाचनमा एमालेले जितेको पोखरा महानगरपालिकाको नेतृत्व एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले पाउनुपर्ने उनीहरूको तर्क छ।

उनले एकीकृत समाजवादी विद्रोह गरेर जन्मिएको पार्टी भएको भन्दै उनले आफूहरू अपमान सहन नजन्मिएको दाबी गरे। उनले आफूलाई पार्टीको शक्तिमा विश्वास रहेको दाबी गरे। उनले महानगरपालिका र उपमहानगरपालिकामा तालमेल मिलाउन गाह्रो भइरहेको समेत खुलाएका थिए। उनले गठबन्धनभित्र रहेकाहरूले हार्ने ठाउँमा पनि जित्ने दाबी गरिरहेको समेत दाबी गरेका थिए।

वैशाख ६, २०७९ मंगलबार १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।