चितवन सभापति खनाललाई देउवाले भने : 'भरतपुर माओवादीलाई दिनुको विकल्प छैन, निर्णय बदल्नुहोस्'

काठमाडौ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनका सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुपर्ने भएकाले निर्णय बदल्न निर्देशन दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन कांग्रेसको निर्णय बदल्न आग्रह गरेका थिए। सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने जवाफ फर्काए।
उहाँले तपाईहरूको निर्णय बदल्नुपर्यो। तालमेल गर्ने भनेपछि सबै आफैँले मात्रै लिने भन्ने हुदैन, भेटमा देउवाले भनेको उदृत गर्दै खनालले भने, मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ।
उनले आफूहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको र पार्टी केन्द्रले त्यहीअनुसार निर्णय गर्ने अपेक्षा रहेको बताए। देउवासँगको भेटपछी चितवनको टोली जिल्ला फर्किसकेको छ। चितवन कांग्रेसले भतरपुर महानगरपालिका आफुले पाउनुपर्ने बताउँदै आएको छ। यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरी रेणु दाहाललाई दोस्रो पटक भरतपुरको मेयर बनाउन लागेका छन्।
यसअघि चैत्र दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले ‘स्थानीय तहको अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने’ भन्ने निर्णय गरेको थियो।
वैशाख ६, २०७९ मंगलबार १५:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।