चितवन र कास्कीका जिल्ला सभापतिलाई देउवाले बालुवाटार बोलाए

चितवन र कास्कीका जिल्ला सभापतिलाई देउवाले बालुवाटार बोलाए

काठमाडौ : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद भइरहेका जिल्लाका नेतालाई काठमाडौँ बोलाएका छन्।  देउवाले बोलाएपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनाल सोमबार नै काठमाडौं आएका थिए। खनालले मंगलबार विहान ११ बजे सभापति एव प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको बताए। ‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसँग राखे, खनालले उकेरासँग भने। 

भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिनुको विकल्प नभएको भन्दै चितवन कांग्रेसको निर्णय बदल्न आग्रह गरेका थिए। तर, सभापति खनालले आफूले कार्यकर्ताको भावनाविपरीत निर्णय बदल्न नमिल्ने बताए। 

उहाँले तपाईहरूको निर्णय बदल्नुपर्यो। तालमेल गर्ने भनेपछि सबै आफैँले मात्रै लिने भन्ने हुदैन, भेटमा देउवाले भनेको उदृत गर्दै खनालले भने, मैले जवाफमा कार्यकर्ताको भावनाविपरीत मैले निर्णय गर्न सक्दिनँ भनेँ। 

उनले आफूहरूले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेको र पार्टी केन्द्रले त्यहीअनुसार निर्णय गर्ने अपेक्षा रहेको बताए। देउवासँगको भेटपछी चितवनको टोली जिल्ला फर्किसकेको छ। यसअघि चैत्र दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले ‘स्थानीय तहको अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने’ भन्ने निर्णय गरेको थियो। 

पोखरा महानगरमा पनि गठबन्धनका दलहरूबीच कुरा नमिलेपछि कांग्रेस कास्कीका सभापति किशोरदत्त वराल सहितको टोली पनि काठमाडौ आउदै छ।

वैशाख ६, २०७९ मंगलबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।