धरौटीमा छुटेकी शर्मिला वाइबा पलसँग जोडिएर पुन विवादमा, प्रधानमन्त्री सचिवालयको आपत्ति

काठमाडौँ : नाबालिग बलात्कारको अभियोगमा कारागारमा रहेका पल शाहको पक्षमा लागेर विवादित बयान दिँदा प्रहरी हिरासत पुगेकी शर्मिला वाइबाले तीन दिन अगाडि फेसबुकमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै उभिएको तस्बिर राखेर लेखिन्' प्रधानमन्त्री सँगको भेटघाट आज। म कुनै पार्टीमा गएको हैन। मेरो कुरा के हो भने पललाई रिहाइ गर्नु तपाईँलाई अवश्य भोट मिल्छ भनेर बाचा गरेर आको छु। पल निर्दोष छ उसले न्याय पाउनु पर्छ।'
संयोग उनले यो तस्बिर राखेकै दिन पीडित नाबालिगले जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा प्रारम्भिक बयान बदलिन्। उनले जाहेरी लगायत पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेको आरोप समेत अस्वीकार मात्र गरिनन् स्वास्थ्य रिपोर्ट पनि आफ्नो नभएको दाबी गरेकी थिइन्।
पलले सरेन्डर गरेर प्रहरी हिरासतमा परेको बेलामा वाइबा तनहुँ गएर प्रदर्शन गर्दै आफैँले आफ्नो लुगा च्यातेर डिएसपीलाई बलात्कारको आरोप लगाइदिने धम्की दिएकी थिइन्। एक युट्युबको अन्तर्वार्तामा उनले अभिनेत्री रेखा थापाको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएपछि प्रहरीको साइबर ब्युरोले पक्राउ गरेर साइबर क्राइममा अनुसन्धान गरेको थियो।
२० दिन अगाडि मात्रै उनी एक लाख धरौटीमा काठमाडौँ जिल्ला अदालतबाट रिहा भएकी थिइन्। चर्चामा आउन जे पनि बोल्ने छवि बनाएकी उनले प्रधानमन्त्री सचिवालय अगाडि उभिएको एकल र सामूहिक तस्बिरसँगै प्रधानमन्त्रीसँगै उभिएको तस्बिर राखेर सामाजिक सञ्जाल फेसबुकमा पलको रिहाइका लागि प्रधानमन्त्री भेट्न गएको दाबी गरिन्।
यस विषयमा प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवासँग जिज्ञासा राख्दा वाइबा मकवानपुरबाट आएको पार्टीको डेलिगेसनमा उनी पनि सहभागी रहेको तर प्रधानमन्त्रीसँग पलको बारेमा कुनै कुराकानी नभएको बताए।
'नेपाली कांग्रेस मकवानपुरको टोलीमा उहाँ पनि सहभागी भएको देखियो। तर फेसबुकमा जे लेखिएको छ त्यसबारे केही कुराकानी भएको हैन। वाहियात कुरा मात्र हो,' भानु देउवाले उकेरासँग भने' यो भ्रम फैलाउने काम भयो। यस्तो गर्ने कारबाहीको दायरामा आउनुपर्छ।'
प्रधानमन्त्री भेट्ने टोलीमा सहभागी नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ (क)का सभापति सुशान्त कुमार श्रेष्ठका अनुसार मकवानपुरको स्थानीय तहको निर्वाचनबारे जिल्लाको धारणा राख्न गएको टोलीसँगै बिचैमा वाइबा मिसिएकी थिइन्।
उनी पनि टोलीसँगै प्रधानमन्त्री निवासभित्र जान चाहेपछि आफूहरूले लगेको तर भित्र प्रतिनिधिमण्डलबाट एक जना बाहेक कसैले पनि नबोलेको उनले बताए। पछि सहभागीहरूले प्रधानमन्त्रीसँग पालैपालो फोटो खिचेको र फोटो खिच्नेक्रममा प्रधानमन्त्रीसँग कसैको पनि कुराकानी नभएको श्रेष्ठले उकेरासँग बताए।
'उनले प्रधानमन्त्रीसँग कुरै गरेकी छैनन्। पलबारे कुरा गरेको भनेर प्रधानमन्त्रीसँगको तस्बिर दुरुपयोग गरिछिन्,' उनले भने।
वैशाख ६, २०७९ मंगलबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।