‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौंः नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थलको अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरूलाई ‘अन अराइभल भिसा’ का लागि २०० अमेरिकी डलर नगद साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो।
तर सो निर्णयको व्यापक विरोध भएपछि हाललाई उक्त प्रावधान खारेज गरिएको विमानस्थल कार्यालयले जनाएको छ। पर्यटकहरूले अन अराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए। विमानस्थल कार्यालयको यस निर्णय नेपाल आउने विदेशी पर्यटकलाई सहज हुने भएको छ।
हाल सोमबारबाट विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको दुई वटा एटीएम मेशिन जडानको काम सुरु भइसकेको छ। यस्तै दुई वटै पीओएस मेशिन पनि थप गर्न लागिएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै थियो। उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो।
वैशाख ६, २०७९ मंगलबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।