शंका र संशयलाई चिर्दै वैशाख ३० मै निर्वाचन सम्पन्न हुन्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौंः निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मिति वैशाख ३० मै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। आज पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्।
'कुनै पनि शंका र संशयलाई चिर्दै वैशाख ३० मा नै निर्वाचन सम्पन्न गर्ने तयारीमा छौं। निर्वाचनप्रति मिडियाको निष्ठा अनि निगरानी र अन्य सबै क्षेत्रको सहयोगले समयमा नै निर्वाचन गराउने वातावरण बनेको हो। निर्वाचन आयोगले सञ्चार जगतसित ठूलो अपेक्षा लिएका छौं', उनले भने।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी एमालेले वैशाख ३० को निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको बताएलगत्तै आयोगका प्रमुख आयुक्तले आज निर्वाचनको मिति नसर्ने दावी गरेका हुन्।
उनले गत कात्तिकदेखि नै निर्वाचनको वातावरण बनाउँदै आएकाले समेत निर्वाचन नसर्ने बताए। यस्तै निर्वाचन महँगो र खर्चिलो भएको सन्दर्भमा उनले भने, 'सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति को प्रयोग बढी भयो भनेर हामीले आयोगको राजनीतिक दल सुरक्षा संयन्त्रलाई खर्चको सीमा तोकेका हौं। मादक पदार्थ बिक्री तथा सेवनमा बन्द गरौं भनेर प्रस्ताव पेश गरेका छौं।'
यस्तै ०४७ सालयता एकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गरेको इतिहास नभए पनि आयोगले त्यो गर्न खोजेको उनले बताए।
कार्यक्रममा आज नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले समेत सम्बोधन गरेका थिए।
वैशाख ६, २०७९ मंगलबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।