इटहरीको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै दबाब दिन चुनावी गीत सार्वजनिक

इटहरीको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै दबाब दिन चुनावी गीत सार्वजनिक

इटहरीः नेपाली कांग्रेस इटहरीले चुनावी गीत सार्वजनिक गरेको छ। सोमबार इटहरीको इन्टुरिस्ट प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बोकौं है चारतारे झण्डा’ बोलको गीत सार्वजनिक गरिएको हो।

पाँच दलीय गठबन्धनका कारण इटहरीको मेयर कांग्रेसले नपाउने खबरसँगै दबाब दिन गीत सार्वजनिक गरिएको हो। चुनावी प्रचारको लागि गीत नै तयार भइसकेको भनेर दबाब दिन कांग्रेसका युवा नेताहरूले यस्तो रणनीति अपनाएका हुन्।

इटहरीको मेयरमा नेकपा एकीकृत समाजवादीले दावी गर्दै आएको छ। उता कांग्रेसका स्थानीयदेखि जिल्ला नेतृत्त्वले गठबन्धन गर्नेभए कांग्रेसको नेतृत्त्वमा गर्नुपर्ने नभए मित्रवत् प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका छन्।

नगर सचिव समेत रहेका गीतका रचनाकार विक्रम घिमिरेले चुनाव प्रचारमा स्थानीय तहबाट नयाँ अभ्यास गर्न खोजिएको बताए। गठबन्धनमा कांग्रेसले मेयर/उपमेयरको टिकट पाउनुपर्ने दबाबस्वरूप चाँडै गीत सार्वजनिक गर्नुपरेको उनको भनाइ छ। गीतले चुनावी प्रचारमा भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। 

युवा नेता निमेष घिमिरेको परिकल्पनामा बनेको गीत ८ मिनेट २८ सेकेण्ड लामो छ। उनका अनुसार इटहरी पहिचानलाई गीतमा समावेश गर्न अधिकतम प्रयास गरिएको छ।

राजन क्षेत्रीको गायन तथा संगीतमा उमा लिम्बूले यसमा स्वर दिएकी छिन्। आनन्द राईको सम्पादनमा डोर्स ओपेनले भिडियो उत्पादन गरेको हो। एडी राजको व्यवस्थापनमा रोशिस राउतले भिडियो निर्देशन गरेका हुन्।

यस्तो छ गीतको भिडियो

वैशाख ६, २०७९ मंगलबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।