पुटिनको दावी: पश्चिमा मुलुकले लगाएको नाकाबन्दी असफल, बलियो भयो रुबल

पुटिनको दावी: पश्चिमा मुलुकले लगाएको नाकाबन्दी असफल, बलियो भयो रुबल

एजेन्सीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूले रुसमाथि लगाएको नाकाबन्दी असफल भएको बताएका छन्। रुसले युक्रेनमाथि हमला गरेपछि अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्स लगायतका मुलुकले रुसमाथि नाकाबन्दी लगाएका थिए। 

सोमबार पुटिनले नाकाबन्दीले रुसलाई नभएर पश्चिमा मुलुकहरूकै अर्थतन्त्रलाई असर गरेको बताए। रुसका शीर्ष अर्थविद्हरूसँग भिडियो कलमार्फत कुरा गर्दै पुटिनले यस्तो धारणा राखेका हुन्।

उनले भने, 'पश्चिमा मुलुकले वित्त-अर्थ व्यवस्था तत्काल ध्वस्त हुने सोचेका थिए, बजार आतङ्कित हुने सोचेका थिए, बैंकिङ प्रणालीको अवसान र स्टोरहरूमा अभाव हुने सोचेका थिए। तर आर्थिक क्षति गराउने रणनीति असफल भएको छ। बरू पश्चिमा मुलुककै अर्थतन्त्रमा असर गरेको छ।'

पुटिनले यो अवधिमा रुसले अभूतपूर्व दबाब सहेको बताउँदै हाल रुबल (रुसी मुद्रा) बलियो भएको दावी गरे। यस्तै उनले सन् २०२२ को पहिलो तीन महिनामा ५८ बिलियन डलरको ऐतिहासिक उच्च व्यापार बचत भएको पनि बताए।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेसँगै विभिन्न मुलुकले रुसमाथि नाकाबन्दी लगाइरहेका छन्। 

वैशाख ६, २०७९ मंगलबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।