मेलम्चीको पानी सातौं दिनमा आइपुग्यो सुन्दरीजल

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ। गत चैत २९ गते मङ्गलबार मुहानबाट पानी सुरुङमा हालिएको थियो।
सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जिनियर विवेक खनालले बताए। राति वासिङ गर्ने च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो।
हाल सुरुङको फोहर पखालेर पानी बागमतीमा छोडिएको छ। मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको छ।
गत वर्ष असार १ गते सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो। क्षति भएको संरचना पुनःनिर्माण गरी चैतमा सुरुङमा पानी हालिएको हो।
अब मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्नेछ।
पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
वैशाख ६, २०७९ मंगलबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।