१५ अर्बको लागतमा कर्णाली प्रदेशकै पहिलो सिमेन्ट उद्योग स्थापना हुँदै

१५ अर्बको लागतमा कर्णाली प्रदेशकै पहिलो सिमेन्ट उद्योग स्थापना हुँदै
तस्बिर: सिमेन्ट उद्योग स्थापनाका लागि मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग सञ्चालकबीच भएको छलफल

सुर्खेतः सुर्खेतको बराहताल गाउँपालिकामा करिब १५ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना हुने भएको छ। दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ सूर्यतारा सिमेन्ट उद्योगको स्थापना हुन लागेको हो।

आज सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग सञ्चालकबीच छलफल भएको छ। छलफलमा बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा खानी र चौकुनेमा उद्योग सञ्चालन गर्ने भन्दै सूर्यताराले आवश्यक सहजीकरण र भावी योजनाका बारेमा प्रदेश सरकारलाई जानकारी गराएको थियो।

मुख्यमन्त्री शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए। उनले खानी र उद्योगसम्म सडक तथा पानी पुर्याउन प्रदेश सरकारले तत्कालै काम थाल्ने पनि बताए।

‘बाह्य लगानी नआउँदासम्म कर्णालीको विकास हुँदैन’, शाहीले भने, ‘बाह्य लगानी भित्र्याउन प्रदेश सरकार आवश्यक सहजीकरण र समन्वय गर्न तयार छ।

उनले उद्योगले प्रदेशलाई गर्ने योगदानका आधारमा करलगायतका क्षेत्रमा छुटको व्यवस्था पनि गर्ने बताए।

उद्योगले दुई वर्षभित्र सिमेन्ट उत्पादन गर्नेछ। यसका लागि उद्योगले चौकुनेमा आवश्यक जग्गा खरिद प्रक्रिया टुङ्ग्याइ सकेको छ।

सूर्यतारा सिमेन्ट उद्योगका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले उद्योगका लागि जग्गा प्राप्ति भइसकेको र पहुँचमार्ग निर्माण र संरचना निर्माणको कामको भइरहेको बताए। उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब, २७ करोड ५० लाखको लगानी स्वीकृत गरेको छ।


चुनढुंगा उत्खनन् हुने क्षेत्र

उद्योगले बराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमीनबाट चुनढुंगा उत्खनन् गर्नेछ भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमीन खरिद गरेको छ। उद्योगले दैनिक ५० देखि ६० हजार बोरा सिमेन्टका साथै तीन हजार टन क्लिङ्कर उत्पादन लक्ष्य राखेको छ।

सिमेन्ट उत्पादनमा अधिक सम्भावना बोकेको सुर्खेतको पश्चिम क्षेत्रमा उद्योग स्थापनाका लागि भएको यो दास्रो प्रयास हो। सडक, र बिजुली नपुगेको भन्दै यसअघि चौकुने सिमेन्ट उद्योगका नाममा अजेय सुमार्गीले वर्षौँदेखि लाइसेन्स होल्ड गरेर बसेका छन्।

आजको छलफल कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, प्रमुख सचिव राजकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

वैशाख ५, २०७९ सोमबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।