पेरिसडाँडाबाट प्रचण्डको उद्घोष: निर्वाचन सर्दैन, अर्थमन्त्री फेर्ने अजेण्डा छैन

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री परिवर्तन गर्ने आफूहरूको अजेण्डा नभएको बताएका छन्। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
सम्मेलनकै क्रममा उनले निर्वाचनको मिति नसर्ने पनि बताए। 'निर्वाचन सर्दैन। गठबन्धन निर्वाचनमा होमिएको छ। बेलुकासम्म ६ महानगर र ११ उपमहानगरपालिकाको टुंगो लगाउने छौँ। त्यसपछि नगर र गाउँको कुरा हुन्छ। भोलिसम्म यसबारे टुंगो लगाउँछौँ। तल्ला तहमा अधिकार प्रत्यायोजन गरेका छौँ', उनले भने।
गठबन्धनको कारण तल्लो तहमा असन्तुष्टि रहेको बारे भने उनले यसले फरक नपार्ने बताए। 'एउटै पार्टीभित्र टिकट नपाउने, बागी उठ्ने देखेकै छौँ। गठबन्धन भइसकेपछि त्यो हुनु स्वाभाविक हो। यसले तात्विक फरक पर्दैन', उनले भने।
यस्तै उनले आफूहरूलाई भरतपुर महानगर नै चाहिने र त्यहाँ रेनु दाहाल नै चाहिने भन्ने नभएको स्पष्टीकरण दिए। ६ वटा महानगरमध्ये कम्तीमा एउटा माओवादीलाई हुनुपर्ने उनको भनाइ छ। '६ वटा महानगरमा कांग्रेसले तीन वटा लिओस्, अरूलाइ १-१ वटा दिओस्। उपमहानगर पनि त्यही मोडलअनुसार हुन्छ', उनले भने।
उनले आफ्नो दल एक्लै प्रतिस्पर्धा गर्न समेत तयार भएको बताएका छन्। गठबन्धन नभएको अवस्थामा जो-जोसँग सहमति हुन्छ उसैसँग तालमेल गर्ने उनको भनाइ थियो। 'एक्लै भिड्न पनि तयार छौँ। एक्लै गए पनि राम्रै हुन्छ। गठबन्धनबाटै जान्छौं, गठबन्धनभित्रै जान्छौँ। नभए त एक्लै जान्छौँ', उनले भने।
उनले नेत्रविक्रम चन्द 'विप्लव' समेत निर्वाचनमा सहभागी हुन चाहेकाले उनलाई सहभागी गराउने वातावरण तयार पार्नुपर्ने बताएका छन्।
पार्टीको आन्तरिक मामिलामा पनि बोल्दै उनले निर्वाचनपछि बाँकी पदाधिकारी चयन गर्ने सर्वसम्मत निर्णय भएको बताएका छन्।
वैशाख ५, २०७९ सोमबार १४:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।