चट्याङ र आँधीका कारण आसाममा १४ जनाको मृत्यु, ४० हजारभन्दा बढी प्रभावित

चट्याङ र आँधीका कारण आसाममा १४ जनाको मृत्यु, ४० हजारभन्दा बढी प्रभावित

एजेन्सीः भारतको आसाम राज्यमा चट्याङ तथा आँधीका कारण १४ जनाको मृत्यु भएको छ। शुक्रबार र आइतबारको भीषण वर्षा र चट्याङमा परेर १४ जनाको ज्यान गएको सिन्हुवाले जनाएको छ।

तीमध्ये ८ जनाको शुक्रबार मृत्यु भएको हो भने ६ जनाको आइतबार मृत्यु भएको हो। आसामको प्राकृतिक प्रकोप व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार यस क्षेत्रमा वर्षा, हावाहुरीका कारण दशौँ हजार नागरिकको घर भत्किएको छ भने अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।

हाल विद्युत आपूर्ति पनि ठप्प छ। प्रभावित नागरिकहरू सरकारी कार्यालय र विद्यालय भवनमा आश्रित हुनुपरेको सिन्हुवाले जनाएको छ। आधिकारिक तथ्याङ्कका अनुसार एक हजार ३७ गाउँका ४१ हजार तीन सय ५० जना प्रभावित भएका छन्।

यसैबीच भारतको उत्तरपूर्वी भूभागमा फेरि पाँच दिनपछि चट्याङसहितको वर्षा हुने भारतको मौसम पूर्वानुमान विभागले जनाएको छ।

वैशाख ५, २०७९ सोमबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।