वाणिज्य विभागले गर्‍यो ९ महिनामा ९९६ फर्मलाई कारबाही

वाणिज्य विभागले गर्‍यो ९ महिनामा ९९६ फर्मलाई कारबाही

काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ सय ९६ फर्मलाई कारबाही गरेको छ। नौ महिना (साउनदेखि चैतसम्म) काठमाडौं उपत्यकाका दुई हजार एक सय २९ व्यावसायिक फर्म अनुगमन गरी विभागले अनुचित कारोबारमा संलग्न ९९६ फर्मलाई कारबाही गरेको हो।

कारबाहीबाट एक करोड १८ लाख ६१ हजार राजश्व सङ्कलन समेत गरिएको छ। अनुगमन गरिएका फर्ममध्ये झण्डै आधा फर्मलाई कारबाहीस्वरूप जरिवाना गरिएको विभागका निर्देशक हरि पङ्गेनीले जानकारी दिए।

उनका अनुसार सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौका समेत दिइएको थियो। सो अवधिमा नौ सय फर्मलाई सामान्य सुधार गर्न र चार सय ६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना सङ्कलन गरिएको थियो। 

फर्म सञ्चालक तीन जनालाई भने पक्राउ गरिएको र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो।

यस्तैगरी अनुगमनको क्रममा खान अयोग्य देखिएको र म्याद सकिएको ५३ लाख ५४ हजार आठ सय ४७ रुपैयाँ बराबरको वस्तु तत्कालै नष्ट समेत गरिएको थियो। ६ सय २७ खाद्यान्न तथा किराना पसल अनुगमन गर्दा तीन सय ६८ पसललाई कारबाहीस्वरूप जरिवाना गरिएको थियो।

यस्तै एक सय ८६ वटा कस्मेटिक तथा कपडा पसल, एक सय १२ फार्मेसी, आठ स्टेशनरी पसल, १० सर्जिकल हाउस, ५३ अण्डा तथा मासु पसल, ३४ मार्ट, १६ फ्युल तथा कोइला पसल, नौ ग्यास पसल, सात ग्रोसरी, २० डिपार्टमेन्ट स्टोर, ३१ मदिरा तथा पेयपदार्थ, ६८ फलफूल तथा तरकारी पसल, ५० दुग्धजन्य पदार्थ तथा बेकरीको पनि अनुगमन गरिएको थियो।

उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिदबिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ। 

पछिल्लो समय बजारमा छडलगायत निर्माण सामग्रीको मूल्य उच्च भएको र ग्यास व्यवसायीले खाना पकाउने एलपी ग्यास लुकाएको उपभोक्ताबाट गुनासो आएपछि ग्यास र छड केन्द्रित भएर अनुगमन गरिएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए।

वैशाख ५, २०७९ सोमबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।