पोखरा महानगरको मेयरमा समाजवादीले सिफारिस गर्यो १४ जना

पोखराः एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित कास्कीका सबै पालिकाका लागि प्रमुख र उपप्रमुखहरूको नाम सिफारिस गरेको छ। पार्टीले जिल्ला कमिटीको बैठक बोलाएर पालिका प्रमुख र उपप्रमुखहरूको नाम सिफरिस गरेको हो।
पोखरा महानगरसहित कास्कीमा ४ वटै गाउँपालिकाका वडा अध्यक्षहरूको नाम समेत सिफारिस गरेको पार्टीको जिल्ला अध्यक्ष धनराज आचार्यले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपलिकाको मेयरमा १४ र उपमेयरका लागि ४ जनाको नाम सिफारिस गरिएको छ।
महानगरको मेयरमा अध्यक्ष आचार्यसहित केन्द्रीय सदस्य श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु वनबासी, मदनकाजी श्रेष्ठ, प्रेम थापा, दिलु पन्त, नारायण बाँस्तोला, चित्रप्रसाद आचार्य, दुर्गाप्रसाद सुवेदी, भीमा पौडेल, नवराज अधिकारी, दाताराम आचार्य र देवेन्द्र बाँस्तोलाको नाम सिफारिस भएको छ।
त्यसैगरी, उपमेयरमा पार्टीका जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता केसी र महेन्द्रकुमार गुरुङको नाम सिफारिस भएको छ।
पार्टीले ठूलो संख्यामा नाम सिफरिस गरे पनि गठबन्धनका तर्फबाट पोखरा महानगर समाजवादीको भागमा परेको अवस्थामा मेयरमा धनराज आचार्य र श्रीनाथ बराल उमेदवार बन्ने सम्भावना अधिक छ।
आचार्य पोखरास्थित पृथ्वीनारायण क्याम्पसको पूर्व स्ववियू सभापति हुँदै एमालेमा रहँदा विभिन्न जिम्मेवारी निर्वाह गरेकाले समाजवादीबाट चुनाव लडेमा एमालेको भोट तान्न सक्ने आकलन छ।
त्यसैगरी बराल पनि समाजवादीमा राम्रो छवि भएका नेताका हुन्। उनी यसअघि साविक जिल्ला विकास समिति कास्कीको उपसभापति रहिसकेका छन्। उनले पनि विद्यार्थी राजनीति हुँदै पार्टीका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सत्ता गठबन्धनमध्येको दल समाजवादीले ६ वटा महानगरमध्ये भागबण्डाका क्रममा पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने अडान राख्दै आएको छ। समाजवादीको प्रदेश कमिटीले भोलि ६ गते केन्द्रमा उम्मेदवारहरू सिफारिस गर्नेछ।
वैशाख ५, २०७९ सोमबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।