वैशाख ९ गते नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने

वैशाख ९ गते नेपाली आकाशमा उल्का वर्षा देख्न सकिने
साङ्केतिक तस्बिर

काठमाडौंः आजबाट वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) सक्रिय हुँदैछ। यो वैशाख १२ गतेसम्म सक्रिय रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।

मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिनेछ। त्यस दिन राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने भट्टराईले बताएका छन्। अत्यधिक सक्रियताको समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ।

‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलोका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’  पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।

पुच्छ्रेतारा वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण छोड्ने गर्छन्। जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्।

यसरी फैलिएका धुलोका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ। परिक्रमा गर्ने क्रममा जब यी धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।

वैशाख ५, २०७९ सोमबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।