महानगरसहित विभिन्न पालिकामा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौंः आज बिहान ९ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्न लागेको हो।
महानगरपालिकासहित विभिन्न स्थानीय तहमा भागबण्डा मिलाउन आज बैठक बस्न लागेको हो। यसअघि आइतबारको बैठकमा दलहरूले महानगर र उपमहानगरमा आफ्नो दावी प्रस्तुत गरेका थिए। चितवनको भरतपुरमा माओवादी केन्द्रले दावी गर्दा पोखरामा एकीकृत समाजवादीले दावी गरेको थियो।
यस्तै वीरगञ्जमा जनता समाजवादी पार्टीले दावी गरेको थियो।
कांग्रेसले भने हालसम्म कुनै पनि पालिकामा दावी नगरे पनि काठमाडौं, ललितपुर र विराटनगरमा दावी गर्ने पक्षमा छ। आजको बैठकले भागबण्डा टुङ्ग्याउने बताइएको छ।
वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। तर हालसम्म पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन्।
वैशाख ५, २०७९ सोमबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।