विभिन्न बहानामा निष्कासन गर्ने सञ्चार गृहविरुद्ध पत्रकार महासङ्घले आन्दोलन गर्ने

काठमाडौँ : पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने सञ्चार गृहविरुद्ध नेपाल पत्रकार महासङ्घले आन्दोलन घोषणा गरेको छ। आइतबार महासङ्घले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, बेतलबी बिदामा राख्ने र विभिन्न बहानामा निष्कासन गर्ने सञ्चार गृह विरुद्ध आन्दोलनको घोषणा गरेको हो।
महासङ्घले आन्दोलन गर्ने भनेर पत्रकार सम्मेलन गरे पनि आन्दोलनको स्वरूप भने सार्वजनिक गरेको छैन। महासङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्बद्ध विभिन्न संघसस्थाका प्रतिनिधिहरूले महासङ्घले घोषणा गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाए।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासङ्घले पटक पटक पत्राचार, वार्ता, र दबाब दिँदा समेत बेवास्ता गरेका कारण महासङ्घ आन्दोलन गर्न बाध्य भएको बताए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको श्रम सम्बन्धी समस्या समाधान गर्न महासङ्घ कानुनी र आन्दोलनका कार्यक्रमलाई सँगसँगै लिएर अघि बढ्ने बताए।
महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको श्रम समस्या देशै भरी रहेको भन्दै त्यसको समाधान गर्न महासङ्घ लागिरहेको बताए। उनले काठमाडौँ उपत्यकामा धेरै पत्रकार पीडित भएका कारण हाल आन्दोलनका कार्यक्रम काठमाडौँ केन्द्रित भएको बताए।
कार्यक्रममा कान्तिपुर टेलिभिजनबाट निष्कासित पत्रकार दीपा दाहालले आफ्नो समस्याहरू राखेकी थिइन्। त्यसमा सञ्चारीका समूहकी अध्यक्ष विमला तुम्खेवा, डब्लुडब्लुजेकी उपाध्यक्ष रामकला खड्का, नेपाल प्रेस युनियनकी उपमहासचिव सलोजा दाहाल, प्रेस चौतारी नेपालकी उपाध्यक्ष देविका घर्ती मगर लगायतका प्रतिनिधिले पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।
वैशाख ४, २०७९ आइतबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।