पाँच दिनको उपचारपछि मन्त्री रेग्मी डिस्चार्ज

पाँच दिनको उपचारपछि मन्त्री रेग्मी डिस्चार्ज

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी  स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छन्। काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज भएर पुलचोक स्थित मन्त्री निवास फर्केकी हुन्। 

डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिए।  राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएर एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो।

ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच  दिन सम्म अस्पतालमै राखेर उपचार गर्नु परेको हो। मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिएको मन्त्रीका  स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए।  

स्वास्थ्यमा सुधार आएपछि अस्पताल प्रशासनले मन्त्री उमा रेग्मी लाई आजै डिस्चार्ज गर्ने जानकारी गराएको थियो। मन्त्री रेग्मीले उपचारमा सहयोग गर्ने डाक्टर, चिकित्सक, नर्स ,अस्पताल प्रशासन लगायत सम्पूर्ण लाई धन्यवाद दिइन्।

वैशाख ४, २०७९ आइतबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।