भागबन्डा गर्न बसेको बैठकमा सहमती भएन, गगनले भने' भोट ट्रान्सफर गर्न गाह्रो हुन्छ'

भागबन्डा गर्न बसेको बैठकमा सहमती भएन, गगनले भने' भोट ट्रान्सफर गर्न गाह्रो हुन्छ'

काठमाडौँ : सरकारमा रहेका पाँच दलबिच स्थानीय तहको निर्वाचनमा भागबन्डामा सहमति मिलाउन बसेको कार्यदलको बैठकमा सहमति हुन सकेन। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वको कार्यदलको बैठकमा महानगर र उपमहानगरको नेतृत्वमा सबै दलले आ-आफ्नो दाबी राखे। तर सहमति हुन सकेन।

बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै घोराही उपमहानगरपालिकाको नेतृत्वमा दाबी गरेको छ। यसै गरी उसले घोराही, जितपुर र सिमराको नेतृत्वमा समेत दाबी गरेको छ। एकीकृत समाजवादीले एउटा महानगरको नेतृत्व नभई हुँदैन भनेको थियो। बैठकमा उनीहरूले आफूलाई विद्रोही शक्ति भएको भन्दै ३-४ वटा महानगरपालिकामा आफ्नो दलको पकड रहेको दाबी गरेको थियो।

जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिकाको नेतृत्वमा दाबी गरेको थियो। उसले वीरगन्जको निर्णय आएपछि मात्रै अरू कुरा गर्ने अडान राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकमा कांग्रेसले पार्टी कार्यकर्ताको मनोभावना विपरीत अन्य दललाई नेतृत्व दिन नसकिने बताएका थिए। बैठकमा महामन्त्री गगन थापाले पार्टीले कतै नछाड्ने अडान राखेका थिए।

'कार्यकर्ताको भावना विपरीत गएर हाम्रो भोट तपाईँतिर ट्रान्सफर गर्न गाह्रो हुन्छ' गगनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। बैठकमा पौडेलले पनि केन्द्रबाट भनेर मात्रै नहुने स्थानीय नेता कार्यकर्ता र मतदाताले पनि मान्नुपर्ने भन्दै स्थानीय कार्यकर्ताको मनोभावलाई समेत हेरेर भागबन्डा गर्नुपर्ने बताएका थिए। 

वैशाख ४, २०७९ आइतबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।