कांग्रेसबाट पोखरा महानगरको मेयरमा डेढदर्जन आकांक्षी

पोखरा : नेपाली कांग्रेसबाट पोखरा महानगरको मेयरमा उम्मेदवार बन्न डेढदर्जनले आकांक्षा देखिएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका समितिले इच्छुकलाई पार्टीभित्र उम्मेदवारी दर्ता गराउन आह्वान गरेसँगै पोखराको मेयरमा १८ र उपमेयरमा ८ जनाले आकांक्षा देखाएका हुन।
महानगर समितिले पोखराको उम्मेदवार बन्न आकांक्षीलाई पार्टीमा उम्मेदवारीका लागि निवेदन दिन आग्रह गरेपछि मेयरमा १८ र उपमेयरमा ८ जनाले उम्मेदवारी दर्ता गराएको महानगर समितिका सचिव गणेश थापाले बताए।
उनका अनुसार मेयरमा उम्मेदवारी दर्ता गराउनेहरूमा कास्की कांग्रेसका अध्यक्ष किशोरदत्त बराल,गण्डकी प्रदेशका मन्त्री रहेका बिन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्ण बहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्द प्रसाद तिवारी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, बाबुराम गिरी, विश्वशंकर पालिखे ,कोपिला रानाभाट किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा रहेका छन्।
त्यसै गरी उपमेयरमा लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, टीका कुमारी गुरुङ, दीपक महत, आनन्दी राणा कार्की, मिलन थापा र चिनु गुरूङले आकांक्षा देखाएका छन्।
पोखरा महानगरमा उम्मेदवार बन्न आकांक्षीको मनसाय बुझ्न महानगर कमिटीले कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरेको थियो।
वैशाख ४, २०७९ आइतबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।