सत्ता गठबन्धनमा खटपट, जसपा फकाउँदै माओवादी

काठमाडौँ : सत्ता गठबन्धनका दलहरूबिच सबै स्थानीय तहमा सहकार्य हुन गाह्रो भएपछि माओवादी केन्द्रले अन्य दलसँग संवाद अगाडि बढाएको छ। मुख्य गरी भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसबिच सहमति हुन सकेको छैन।
कांग्रेस नेताहरूले भरतपुरमा मित्रवत् प्रतिस्पर्धाको प्रस्ताव गरिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्रको अर्को दल जनता समाजवादी पार्टीसँग एक्लै छलफल गरेका हुन्।
प्रचण्डले आइतबार जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन्। सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा करिब एक घण्टा छलफल भएको हो।
उता गठबन्धनमा रहेका पाँच दलबिच महानगरपालिका र उपमहानगरपालिकामा सहमतिका लागि काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा कार्यदल बनेको छ। कार्यदलले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा मिलाउने जिम्मेवारी पाएको छ। दुवै पार्टीबिच सो कार्यदलको बैठकबाट प्रस्ताव आएपछि पुन बैठक बस्ने सहमति भएको एक नेताले बताए।
वैशाख ४, २०७९ आइतबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।