दलको चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश

दलको चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश

काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरेको छ।

आयोगका अनुसार २०७४ को प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त दलको निर्वाचन चिह्न निर्धारण गरिएको हो।

उक्त निर्वाचनमा नेकपा एमालेलाई ३१ लाख ७३ हजार ४९४, नेपाली कांग्रेसलाई ३१ लाख २८ हजार ३८९, माओवादी केन्द्रलाई १३ लाख तीन हजार ७२१ र जनता समाजवादी पार्टी नेपाललाई ९ लाख ४२ हजार ४५५ मत प्राप्त भएको थियो।

२०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि जिल्लामा क्रियाशील सम्बन्धित दललाई आयोगबाट यसअघि प्रदान गरिएको निर्वाचन चिह्न नै प्रदान गरिने भएको छ।

त्यस्ता राजनीतिक दलका निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनका लागि तत् तत् जिल्लाका मतपत्रमा समावेश गर्ने आयोगबाट निर्णय भएको प्रवक्ता शालिग्राम शर्माले बताए।

राष्ट्रिय मान्यता प्राप्त नगरेका तथा २०७४ को निर्वाचनमा भाग नलिए पनि जिल्लाको राजनीतिक संरचनामा रही क्रियाशील रहेका दललाई पनि आयोगको गत चैत १३ को निर्णयअनुसार स्थानीय तह निर्वाचनमा तत् तत् जिल्लाको मतपत्रमा सम्वन्धित दलका निर्वाचन चिह्न समावेश गर्ने निर्णय भएको छ।

प्रमाणित जिल्लागत विवरण समावेश नगरिएका तर स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको तर्फबाट खडा हुने उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नको समूहबाट निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

वैशाख ४, २०७९ आइतबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।