सुर्खेतका ३८ वडामा एमालेका सर्वसम्मत उम्मेदवार चयन

सुर्खेतका ३८ वडामा एमालेका सर्वसम्मत उम्मेदवार चयन

सुर्खेत : नेकपा एमाले सुर्खेतले ९९ वडामध्ये ३८ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ।

यस्तै १५ वडाबाट उम्मेदवार सिफारिस भएका छन् भने बाँकी वडाबाट वैशाख ६ गतेसम्म सिफारिस गरिसक्न निर्देशन दिएको छ।

आगामी निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरुको छनोटको अन्तिम निर्णय सचिवालयले गर्ने गरी जिल्ला कमिटीलाई अधिकार दिने निर्णय समेत भएको नेकपा एमाले सुर्खेतका प्रचार-प्रसार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए।

पार्टीको सचिवालय बैठकले हरेक पालिकाले पाँचदेखि सात जनासम्म सदस्य रहेको चुनाव प्रचार तथा प्रसार समिति गठन गरेर प्रचार-प्रसारलाई व्यवस्थित गर्न पालिका कमिटीलाई निर्देशन दिएको उनले बताए।

तिमिल्सेनाका अनुसार जिल्ला कमिटीमा सात जना सदस्य मनोनित गरिएको छ। आसन्न निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा होमिने भन्दै गठबन्धनले एमालेलाई कुनै असर नपर्ने एमाले सुर्खेतका जिल्ला इन्चार्ज नवराज रावतले बताए।

उनले विगतको निर्वाचनमा एमाले कर्णालीमा पहिलो पार्टी बनेको बताउँदै यसपटकको निर्वाचनमा पनि एमालेलाई कर्णालीमा उत्साहजनक तवरले निर्वाचनबाट पहिलो पार्टी बन्ने दावी गरे।

वैशाख ४, २०७९ आइतबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।