डुबेर मृत्यु भएका बालकको शव उठेन, बिहानैदेखि बिपी राजमार्ग अवरुद्ध

काठमाडौं : बालकको मृत्युको विषयलाई लिएर बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ। पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्।
स्थानीयबासीले राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-४, ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारी साधन गुड्न सकेका छैनन्।
राजमार्ग बिहानैदेखि बन्द भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पीडित पक्षलाई आवश्यक छलफलका लागि कार्यालयमा हिजोदेखि बोलाएको भए पनि पीडित पक्ष नआएको र सडकमा टाएर बालेर राजमार्ग अवरुद्ध पुर्याएको प्रहरीले जनाएको छ।
शनिबार फिक्कल गाउँपालिका-१ घर भई हाल कमलामाई बस्दै आएका १२ वर्षीय श्रृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो।
कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा श्रृयासको मृत्यु भएको विषयलाई लिएर स्थानीयबासीले दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बालकको शव बुझेका छैनन्।
वैशाख ४, २०७९ आइतबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।