कञ्चनपुरमा धामीझाँक्रीको भर पर्दा एक महिलाको मृत्यु, ७ जना पक्राउ

कञ्चनपुर : धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए।
झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो। मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको थियो। अहिलेसम्म प्रहरीले घटनाको अनुसन्धानका लागि भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामी धर्मानन्द भट्ट, भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्ट लगायत ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी उपरीक्षक चौधरीले महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए। 'घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ', उनले भने, 'दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ।'
बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। 'धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ', उनले भने, 'बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो।'
वैशाख ३, २०७९ शनिबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।