विवेकशील साझाको काठमाडौँ केन्द्रित घोषणापत्रः १२ कक्षसम्म निःशुल्क शिक्षादेखि विद्युतीय सवारीमा कर छुट

काठमाडौँ : रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबाट आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ।
ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा काठमाडौँमा मेयर र उपमेयरका उम्मेदवार रहेका किशोर थापा र निरूपकमा यादवका साथै पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको थियो।
सार्वजनिक प्रतिज्ञा पत्रमा विवेकशीलले १२ कक्षसम्म निःशुल्क शिक्षादेखि काठमाडौँमा ५० वटा थप सार्वजनिक शौचालय निर्माण गर्ने घोषणा गरेको हो।
घोषणापत्रमा विद्युतीय सवारी साधन खरिदमा तीन वर्षसम्म महानगरीय कर नलिने, ‘डिजल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिने, बिजुलीवाट चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था र कम्पनीलाई महानगर अन्तर्गतका सबै कुरा तीन वर्षका लागि मिनाहा गरिने,’ घोषणा पत्रमा उल्लेख छ।
यसै गरी, हरेक वडामा नयाँ सार्वजनिक पार्क बनाउने, अनधिकृत जग्गालाई खुल्ला क्षेत्रका रूपमा विकास गर्ने, काठमाडौँका कतिपय भित्री क्षेत्रमा निश्चित समयका लागि सवारीसाधन निषेध गरी पर्यटक लक्षित आकर्षक बजार क्षेत्र र स्थानीयवासीको लागि सार्वजनिक स्थलको विकास गर्ने विषय समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
विवेकशीलले बागमती, विष्णुमती, रुद्रमतीलगायतका खोला किनारामा संघीय सरकारको समन्वयमा ग्रिन वेल्ट, जगिङ र साइकल ट्रयाक निर्माण गर्ने, कुहिने र नकुहिने फोहोरलाई अलगअलग दिन निकाल्ने, प्रत्येक बर्ष २५ हजारभन्दा बढी वृक्षारोपण गर्ने, काठमाडौँलाई जीवन्त संग्रहालयको रूपमा विकास गर्दै नेवाः कला संस्कृतिको पुनर्जागरण गर्नेलगायत मुख्यतः सात विषय केन्द्रित रहेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
वैशाख ३, २०७९ शनिबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।