नेता-कार्यकर्तालाई माधव नेपालको आह्वान- एमालेबाट विद्रोह गरी नयाँ पार्टी खोल्नुको तथ्य-प्रमाण जनतासामु पस्किनूस्

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोल्नुको कारण जनतासामु पस्किन आह्वान गरेका छन्।
आसन्न स्थानीय चुनाव नजिकिँदै गर्दा भिडियो सन्देश जारी गर्दै नेता नेपालले एमाले छोडेर आफ्नो पार्टी खोल्नुको औचित्यबारे जनतालाई स्पष्ट पार्न आग्रह गरेका छन्।
'एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो, तथ्य र प्रमाणहरू जनतासामु पस्किनूस्,' उनले पार्टीका नेता/कार्यकर्तालाई भनेका छन्, 'एक-एक तथ्य र प्रमाण तथ्य दिनूस्। त्यसपछि विपक्षीको बोली बन्द हुनेछ। झुटा आरोपमा चोटिलो जवाफ दिनूस्।'
नेता नेपालले भिडियो सन्देशमा आफ्नो पार्टीको नीति कम्युनिष्ट आन्दोलनको हितकै लागि अघि बढाएको उल्लेख गरेका छन्। एमालेप्रति लक्षित गर्दै उनले भनेका छन्, 'उनीहरूले बाटो बिराएका छन्। दक्षिणपन्थी भासमा जाकिएका छन्। उनीहरूमा व्यक्तिवाद हावी छ।'
त्यो पार्टी सत्तामा पुगेपछि अहंकार र दम्भमा परिणत भएको उल्लेख गर्दै उनले भनेका छन्, 'उनीहरू लोकतान्त्रिक मान्यता मान्दैनन्। कमिटी प्रणाली मान्दैनन्। व्यक्तिको जय र व्यक्ति पूजाको प्रवृत्ति देखिन्छ।'
वैशाख ३, २०७९ शनिबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।