माओवादी कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतकमा शाह नियुक्त 

माओवादी कर्णाली प्रदेश संसदीय दलकाे प्रमुख सचेतकमा शाह नियुक्त 

सुर्खेत : माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णा शाह नियुक्त भएकी छन्।

जाजरकोटबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शाहलाई माओवादी केन्द्र संसदीय दलको बैठकबाट प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय गरिएको हाे।

यसैगरी माओवादी संसदीय दलको बैठकले संसदको अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा रुकुम पश्चिमका सांसद रातो कामीलाई सिफारिस गरेको छ।

यस्तै डोल्पाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई असार १६ गतेपछि मन्त्री बनाउने निर्णय गरेकाे माओवादीका एक सांसदले उकेरालाई जानकारी दिए। 

हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा `कार्चेन´काे पद असारमा सकिने भएपछि सांसद शाहीलाई मन्त्री बनाउने तयारी भएको ती सांसदले बताए।

कार्चेनलाई मन्त्री बनाउँदा शाही र तत्कालीन प्रमुख सचेतक ठम्मर विष्टले चर्काे आलाेचना गरेका थिए। लामालाई मन्त्री बनाएकै विषयमा असन्तुष्टि जनाउँदै विष्टले प्रमुख सचेतक र सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए।

११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र संसदीय दलमा यी तीन जनाबाहेक अरु सबै मन्त्री भइसकेका छन्।

वैशाख ३, २०७९ शनिबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।