सोमालियामा चरम खडेरी: एकतिहाई मानिस विस्थापित, सहायता संस्थाले खानेपानीको लागि पैसा उठाउँदै 

सोमालियामा चरम खडेरी: एकतिहाई मानिस विस्थापित, सहायता संस्थाले खानेपानीको लागि पैसा उठाउँदै 
photo: the Guardian

एजेन्सी : पूर्वी अफ्रिकी मुलुक सोमालियाले यति बेला चरम खडेरीको सामना गरिरहेको छ। लगातार तीन वटा वर्षातको समयमा पानी नपर्दा सोमालियाले चरम खडेरीको सामना गरिरहेको हो। 

करिब १ करोड ७० लाख जनसंख्या रहेको सोमालियामा चरम खडेरीका कारण लाखौँ मानिस विस्थापित भएका छन्। युएनएचसीआर अन्तर्गतको प्रोटेक्सन एण्ड रिर्टन मोनिटरिङ नेटवर्कको पछिल्लो तथ्यांकअनुसार खडेरीकै कारण बिगत एक वर्षमा सोमालियाको कुल जनसंख्यामध्ये तिन चौथाई मानिसहरू विस्थापित भएका छन्। खडेरीकै कारण सन् २०२१ मा ७ लाख ४५ हजार मानिस विस्थापित भएका थिए भने सन् २०२२ को पहिलो तिन महिनामा मात्र ५ लाख मानिस विस्थापित भएका छन्।

दशककै चरम खडेरी संकटको सामना गरिरहेको सोमालियामा लाखौँ मानिसले खानेपानी र भोकमरीको सामना गरिरहेको सेभ दी चिल्ड्रेनले समेत उल्लेख गरेको छ। पानी र खानेकुराको खोजीमा लाखौँ मानिसहरू ग्रामीण भेगबाट शहरी क्षेत्रमा प्रवेश गरिरहेकोसमेत बताइएको छ। तत्काल कुनै पनि कदम नचालिए सोमालियाका ३ लाख ५० हजार बालबालिका मृत्युको मुखमा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।  

यति बेला खडेरीको मध्यविन्दुमा रहेको सोमालियामा खडेरीले थुप्रै मानिसको ज्यान लिइसकेको छ। विश्व खाद्य कार्यक्रमका अनुसार करिब ४० वर्षअघि देखि स्याटेलाईटले रेकर्ड राख्न थालेदेखि यता सोमालियाका केही राज्यहरू सबैभन्दा तातो राज्यको रूपमा देखा परेका छन्। सोमालियाको खडेरीबाट उम्किनका निम्ति विभिन्न मानवीय सहायता संस्थाहरूले पछिल्ला वर्षहरूमा मात्र अर्बौँ अमेरिकी डलर खर्च गरिसकेका छन्। 

‘सोमालियाको वातावरण र यहाँका मानिसले खडेरीको वास्तविक असर खेपिरहेका छन्। हरेक व्यक्तिले आफ्नो क्षमताभन्दा बढी रकम पानीको लागि खर्चिसकेका छन्’ सोमालियाको बेनादिर क्षेत्रीय प्राधिकरणका निर्देशक होदान अलिले दी गार्जियनसँग भनेका छन्। 

मेडिकल, खाद्यान्न लगायत अन्य सामग्री एवं विकास निर्माणको लागि चाहिने रकमभन्दा कयौँ गुणा बढी रकम सोमालियाले पानीको लागि खर्च गरिसकेको बताइएको छ। विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमार्फत सोमालियामा रहेका विभिन्न निजी तथा सरकारी संघ संस्थालेसमेत पानीको लागि करोडौँ डलर खर्च गरिसकेको समेत गार्जियनले उल्लेख गरेको छ। 

तर दुर्भाग्य, पानीको नाममा आउने गरेको रकम सोमालियाका जनताको लागि नभई त्यहाँको सरकारले चुनावी अभियानमा खर्च गर्ने गरेकोसमेत गार्जियनले जनाएको छ । विभिन्न मानिससँग पैसा उठाउँदै निजी कम्पनीसँग खानेपानी किनेर पानी वितरण गर्दै आएका सोमालियाका स्थानीय अब्दुल्लाह अब्दीशकुरले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय सहायता संस्थासँग म निराश छु। खानेपानी सहायताको नाममा यी निकायहरूले आफ्नो समय र रकम खेर फालिरहेका छन्। यी निकायहरूले हाम्रो मुलुकका जनताको लागि दिएको रकम सरकारले चुनावमा खर्चिरहेको छ। नेताहरू खडेरीको समस्या समाधानभन्दा चुनावमा मात्र केन्द्रित छन्।’ 

अब्दुलाहि विभिन्न निकायबाट पैसा उठाएर पानीको लागि दैनिक १ सय डलर देखि ४ सय डलर रकमसम्म खर्च गर्छन्। सो रकमबाट निजी कम्पनीसँग किनेको पानी ट्रकमार्फत दुर्गम गाउँसम्म पठाउँछन्। सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायताका कोर्डिनेटर आदम अब्देलमौला पनि सो समस्याका प्रत्यक्षदर्शी हुन्। त्यहाँको सरकार कार्यात्मक नहुँदा ज्यानमारा खडेरीले त्यहाँका कैयौँ मानिसको ज्यान जोखिममा रहेको उनले बताएका छन्। 

गेडो ड्राउट रिलिफ कमिटी (जीडिआरसी)ले दक्षिणी र पश्चिमी सोमालियाका जनताको पानीको प्यास मेटाउन हालसम्म २ लाख अमेरिकी डलर रकम जम्मा गरेको छ भने करिब ६ सय पानी ट्यांकर परिचालन गरेको छ। जिडिआरसीले आतंकवादी समुह अल शबाबको नियन्त्रणमा रहेको क्षेत्रबाट पानी ल्याएर विभिन्न ग्रामीण भेगमा वितरण गर्दै आएको बताइएको छ। 

राष्ट्रसंघीय एजेन्सी युनिसेफले सोमालियामा पानीको लागि कति रकम खर्च भयो र कति मानिसहरू पानीको पहुँचमा रहे भन्नेबारे तथ्यांक उपलब्ध नगराए पनि करिब ६० लाख ४० हजार मानिसलाई तत्काल स्वच्छ पानीको आवश्यकता रहेको उल्लेख गरेको छ। खानेपानीको लागि मात्र त्यहाँ तत्काल १८ मिलियन डलर रकम आवश्यक रहेको युनिसेफले जनाएको छ।                          -एजेन्सीको सहयोगमा 

वैशाख २, २०७९ शुक्रबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।