पोखरा महानगरमा एमालेका प्रमुख –उपप्रमुखमा २१ आकांक्षीकाे नाम सिफारिस

पोखरा महानगरमा एमालेका प्रमुख –उपप्रमुखमा २१ आकांक्षीकाे नाम सिफारिस

पोखरा : नेकपा एमाले पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार छान्न नसकेपछि जिल्लामा सिफारिस गर्ने भएको छ। यही वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनमा महानगरमा प्रमुखमा १२ र उपप्रमुखमा ९ जनाले आकांक्षा देखाए। आकांक्षी धेरै भएका कारण छलफलमा सहमति जुट्न नसकेपछि दुवै पदमा तीन–तीन जनाको नाम सिफारिस गर्नु पर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले २१ जना आकांक्षीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 

निर्वाचन कार्यतालिका प्रकाशन गरेर मतदानको समय घर्किएपछि महानगर कमिटीले २१ जनाको नाम  जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो। कार्यतालिका अनुसार १२ बजेबाट मतदान गर्ने कार्यक्रम राखिएको थियो। सहमतिको प्रयास गर्दा समेत आकांक्षीबीच सहमति नजुटेपछि अन्त्यमा आएर जिल्ला कमिटीमा नाम सिफारिस गर्ने निर्णय भएको एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले बताए। 

भौगोलिक रुपमा देशकै ठूलो पोखरा महानगरको मेयरमा एमालेका तर्फबाट मेयरमा १२ र उपमेयरमा ९ जनाले आकांक्षा देखाएका छन्। एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीले आफूm निकटस्थलाई महानगरको प्रमुख, उपप्रमुखमा ल्याउन चाहेकाले उम्मेदवार छनौटमा विवाद देखिएको हो।

यस अघि भएको एमालेको जिल्ला अधिवेशन र महानगर कमिटीको अधिवेशनमा उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख अधिकारीले आफू निकटकालाई नेतृत्वमा ल्याउन चाहेका कारण एक हप्तासम्म अधिबेशन लम्बिएको थियो। तर, अहिले स्थानीय निकायको निर्वाचनमा पनि पुनः त्यही रोग दोहोरिएकाले निर्वाचनको कार्यतालिका नै सार्वजनिक भएपनि त्यसलाई रोकेर सवै आकांक्षीको नामावली जिल्ला कमिटीमा पठाइएको छ।

महानगरको मेयरमा गण्डकी प्रदेशसभाका सांसद कृष्ण बहादुर थापा, राजिब पहारी, पार्टीका केन्द्रीय सचिबालय सदस्य भिम कार्की, दर्शन लामा, दीपक पौडेल, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, पुष्पराज अधिकारी, बालकउण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, प्रा.डा. विश्व कल्याण पराजुली आकांक्षी रहेका छन्।

त्यस्तै उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य र बलराम गायक गन्धर्वले दाबी गरेका छन।

एक सय १० सदस्यीय पोखरा महानगर कमिटीले निर्वाचन नै रोकेर जिल्ला कमिटीमा सिफारिस गरेपछि अब, जिल्ला र प्रदेश कमिटीले आकांक्षी मध्येबाट तीन तीन जनाको नाम केन्द्रमा पठाउने छ। प्रदेश कमिटीले पठाएका तीन–तीन जना उम्मेदवारको अन्तिम टुंगो एमाले केन्द्रीय कमिटीले लगाउने छ। २०७४ सालको स्थानीय चुनावमा समेत मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो। 

वैशाख २, २०७९ शुक्रबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।